कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर राष्ट्रिय बाघ गणना सुरु गरेसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणनाको तयारी गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

बाघको गणनाका लागि पाँचवटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाई समेत समेटेर तीनवटा ‘कम्प्लेक्स’ बनाइएको छ । हाल चितवन–पर्सा कम्प्लेक्स तथा बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघ गणना भइरहेको छ । यहाँ गणना सकिएपछि तेस्रो कम्प्लेक्समा रहेको शुक्लाफाँटामा सुरु हुने निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । त्यसका लागि निकुञ्ज कार्यालयको जनशक्ति तयारी अवस्थामा रहेको उनले बताए ।

सूचना अधिकार वाग्लेले भने, “बाघ गणनाका लागि निकुञ्जका तर्फबाट सबै तयारी पूरा भइसकेको छ । चितवनमा बाघ गणना सकिएपछि प्राविधिक सामग्री यता आइपुग्छन् अनि माघ अन्तिमतिर गणना सुरु हुन्छ ।”
पछिल्लो समय यहाँ बाघको सङ्ख्या बढ्दै गएको छ । सन् २०२२ मा गरिएको राष्ट्रिय गणनाअनुसार शुक्लाफाँटामा ३६ वटा बाघ रहेकामा निकुञ्ज कार्यालयको आन्तरिक अनुगमनमा यस वर्ष ४३ बाघ फेला परेका जनाइएको छ ।















