अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– १० मा रहेको धाइया सलानी सामुदायिक बन उपभोक्ता समितिको वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार एक औपचारीक कार्यक्रमका बिच सामुदायिक बन उपभोक्ता समितिको २३औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष भीम जैगडीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. १० का वडाध्यक्ष रविन्द्र शाही रहेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य महादेव कामी, वडा नं. १० का वडासदस्य शेर बहादुर तामाङ्ग, जीत बहादुर जैगडी, बन्दना सुनार, समाजसेवी रमेश ताम्राकार, विभिन्न पार्टीका प्रतिनिधि लगायत स्थानियहरुको सहभागिता रहेको थियो । साधारण सभामा समितिकी सदस्य रामेश्वरी पनेरुले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन भने कार्यक्रमको सञ्चालन समितिका विशेष सहयोगी श्याम बहादुर स्वाँरले गरेका थिए ।



कार्यक्रममा समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगती प्रतिवेदन र आर्थिक प्रतिवेदन अध्यक्ष भीम बहादुर जैगडीले प्रस्तुत गरेका थिए । आर्थिक प्रतिवेदन अनुसार सामुदायिक बन उपभोक्ता समितिले सो आर्थिक वर्षमा १८ लाख ५१ हजार ५११ रुपैया बराबरको आम्दानी गरेको छ । जसमा अघिल्लो आर्थिक वर्षको अल्यामा ८ लाख ५४ हजार ३३१, काठ बिक्रिबाट ६ लाख १७ हजार ५८०, दाउरा र घाँसबाट ३१ हजार ६००, खयर बिक्रिबाट ३ लाख ४५ हजार र दण्ड जरिवानाबाट ३ हजार आम्दानी भएको देखाईएको छ ।
समुहले विभिन्न शिर्षकमा १७ लाख ३५ हजार ६१३ रुपैया खर्च गरेको छ । जसमा बनहेरालु तथा कर्मचारीको तलबमा १ लाख ९४ हजार, आर्थिक सहयोगमा १ लाख ९० हजार, घेरबारका लागि तारजाली खरिदमा १ लाख, काठ संकलन बाफतमा ७१ हजार ६७० लगायत रहेका छन । सामुदायिक बनले वैदेशिक रोजगारीका लागि जाने सामुदायिक बनका उपभोक्ताहरुलाई ऋण लगानी पनि गरेको छ । समितिका अध्यक्ष भीम बहादुर जैगडीले सामुदायिक बनमा आवद्ध परिवारका सदस्यलाई वैदेशिक रोजगारीका लागि ऋण प्रदान गरिएको बताए । उनले समितिले कुल ९ लाख २० हजार रुपैया सो शिर्षकमा ऋण प्रदान गरेको बताए । सामुदायिक बनमा त्यसबाहेक १ लाख १५ हजार ८९८ रुपैया बैंक मौज्दात रहेको अध्यक्ष जैगडीले बताए ।

ससमितिले सामुदायिक बन बाट नै विभिन्न सामाजिक कार्यहरुमा समेत सहयोग गरेको छ । समितिले फलफुल तथा विभिन्न प्रजातीका विरुवाहरु वृक्षारोपण गर्नेदेखी लिएर विद्यालयहरुलाई आर्थिक तथा फर्निचर सहयोग गर्ने, मठमन्दिरहरुलाई आर्थिक सहयोग गर्ने, आर्थिक रुपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्ने, युवाहरुलाई खेल विकासका लागि क्लब मार्फत सहयोग गर्ने, उपभोक्ताहरुमा जनचेतनामुलक कार्यक्रम आयोजना गर्ने तथा सो क्षेत्रमा मनाईने विभिन्न पर्व र संस्कृतिको संरक्षणका लागि आवश्यक सहयोग गर्ने काम गर्दै आईरहेको अध्यक्ष जैगडीले बताए ।
उक्त सामुदायिक वनबाट ७ हजार २४४ जनसंख्या लाभान्वित भएको समितिको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार सामुदायिक बनमा सो क्षेत्रका एक हजार घरधुरी आवद्ध छन । १७०.४९ हेक्टर क्षेत्रफलमा फैलिएको सो सामुदायिक बनको मुख्य आम्दानीको स्रोत काठदाउरा नै भएको अध्यक्ष जैगडीले बताए । हाल सो बनमा साल, खयर, जामुन, चाँदी, सिसौँ लगायतका विरुवाहरु तथा बदेँल, बाँदर, निलगाई, चित्तल, दुम्सी, पाटेबाघ, चितुवा, स्याल लगायतका जनावरहरु रहेका प्रतिवेदनमा उल्लेख छ । समितिका अध्यक्ष जैगडीका अनुसार सो सामुदायिक बनमा मयुँर, ढुकुर, जुरेली, सुगा, मैना, वनकुखुरा लगायतका पंक्षीहरु समेत रहेका छन ।


















