खाेज्नुहाेस

अत्तरियामा नयाँ दलले बढाउँदै चुनावी गतिविधि

Image

अत्तरिया – कैलालीको अत्तरियामा जेनजी आन्दोलन पछि उदाएका नयाँ दलले चुनावी गतिविधि बढाएका छन् । जेनजी आन्दोलन पछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधि सभा चुनाव नजिकिँदै जाँदा नयाँ खुलेका राजनीतिक दलले आफ्ना राजनीतिक गतिविधि बढाएका हुन । सुदूरपश्चिम प्रदेशकै केन्द्रका रूपमा रहेको यस क्षेत्रमा जेनजी आन्दोलन पछि खुलेका नयाँ दलहरूले विशेष प्राथमिकता दिएर आफ्ना गतिविधि गरिरहेका छन् ।

केन्द्रमा चर्चित अनुहार भएका व्यक्तिहरूको नेतृत्वमा नयाँ दलहरू खुलेका भए पनि तल्लो तहसम्म सङ्गठन बिस्तार गर्न बाँकी रहेका दलहरूले अत्तरियामा आफ्ना गतिविधि तीव्र बनाएका हुन ।

attariya hospital

केन्द्रीय राजनीतिमा चर्चामा रहेका हर्क साम्पाङ नेतृत्वमा खुलेका श्रम संस्कृति पार्टीले अत्तरियामा प्रदेशकै कार्यालय स्थापना गरेर आफ्ना चुनावी गतिविधि अगाडि बढाइरहेको छ । पार्टीका सुदूरपश्चिम इन्चार्ज महेन्द्र पुनले सुदूरपश्चिमको केन्द्रमा रहेको अत्तरियामा पार्टी कार्यालय स्थापना गरेर आफ्ना राजनीतिक गतिविधि अगाडि बढाएको बताए । उनले अत्तरियामा पार्टी कार्यालय स्थापना गरेर जिल्ला र पालिका स्तरीय समितिहरू गठनका लागि छलफल अगाडि बढाएको बताए । श्रम संस्कृति पार्टीले पार्टीका अध्यक्ष हर्क साम्पाङलाई अत्तरियामा ल्याएर जनसभा गर्ने तयारी पनि गरेको छ । प्रदेश अध्यक्ष पुनले हर्क साम्पाङलाई अत्तरियामा ल्याउने तयारी भए पनि मितिको टुङ्गो भने नलागेको बताए ।

यस्तै अर्को चर्चित अनुहार कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले पनि अत्तरियामा आफ्ना राजनीतिक गतिविधि अगाडि बढाएको छ । उक्त पार्टीले बिहीबार मात्रै अत्तरियामा क्षेत्रीय स्तरीय भेलाको आयोजना गरेको छ ।

navjiwan hospital

पार्टीका केन्द्रीय सदस्य मनोज जैगडीले डा. तारा जोशीको प्रमुख आतिथ्यतामा अत्तरियामा क्षेत्रीय भेलाको आयोजना गरिएको बताए । कार्यक्रममा बोल्दै तारा जोशीले सुदूरपश्चिम लगायत ९ वटै जिल्लामा कमिटी बिस्तार गर्ने तयारी गरिएको बताए । उनले नयाँ शक्तिहरू एक ठाउँमा आएर चुनाव लड्ने प्रयास पनि जारी रहेको बताउँदै पार्टी एकता नभए पनि कार्यगत एकता गर्ने प्रयासमा रहेको बताए ।

अघिल्लो निर्वाचनमै नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने आफ्नो वडा स्तर सम्म सङ्गठन विस्तार गरेर चुनावी गतिविधि अगाडी बढाएको छ । केही दिन अघि मात्रै अत्तरियामा वृहत् पार्टी एकता भेला आयोजना गरेको उक्त पार्टीले आफूलाई यस क्षेत्रमा सङ्गठनका हिसाबले पनि बलियो शक्तिका रूपमा स्थापित गरेको छ ।

नयाँ उदाएका पार्टीहरूले चुनावी गतिविधि तीव्र बनाइरहँदा पुरानो पार्टी नेपाली कांग्रेसले औपचारिक कार्यक्रम नगरे पनि निर्वाचनमा उम्मेदवार छनोटको काम भने क्षेत्रीय स्तरबाट गरिसकेको छ । कांग्रेसले क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचनका लागि प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ ७ जना र समानुपातिक तर्फ ९ जनाको नाम सिफारिस गरेको छ । यस क्षेत्रबाट अघिल्लो निर्वाचनमा कांग्रेसका वीर बहादुर बलायर प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

अघिल्लो चुनावमा यस क्षेत्रबाट दोस्रो बढी मत पाएको नेकपा एमालेले भने अझै चुनाव लक्षित कार्यक्रम गरेको छैन भने तेस्रो र चौथो स्थानमा मत ल्याएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ । नेकपाले भने केही दिन अघि चुनाव लक्षित गरेर अत्तरियामा एकता भेला आयोजना गरिसकेको छ ।