अत्तरिया – विभिन्न चुनौतीका बिच अत्तरियामा पुनः महोत्सवको रौनक छाएको छ । २०८० सालको महोत्सवमा नक्कली टिकट ठेली भेटिएपछि रोकिएको महोत्सव न्यु सृजनशील युवा क्लबको आयोजनामा पुनः सञ्चालनमा आएको हो ।
अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा नक्कली टिकट ठेली भेटिए पछि महोत्सव मात्रै नभएर अत्तरिया क्षेत्रकै बदनाम हुने अवस्था बनेकोमा हाल महोत्सव सञ्चालनले केही राहत मिलेको छ । गोदावरी मोबाइल व्यवसायी संघका अध्यक्ष गंगा प्रसाद निरौलाले महोत्सव आयोजनाले यस क्षेत्रको व्यापार व्यवसाय चलायमान हुने बताए ।

गोदावरी होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण धामीले सृजनशील युवा क्लबले खेलकुदका कार्यक्रम सँगै व्यवसायी प्रवर्धनका लागि खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले महोत्सवलाई सभ्य बनाउनको लागि होटल व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका हुने बताउँदै महोत्सव स्थलमा मादक पदार्थ विक्री वितरण नगर्न आग्रह गरे ।
राजनीतिक दलको तर्फबाट महोत्सवको उद्घाटन सत्रमा आफ्ना धारणा रास्वपा गोदावरीका नगर सभापति दीपक ओझाले रोकिएको महोत्सव सञ्चालन गरेर सृजनशील युवा क्लबले अत्तरियाको नाक बचाइदिएको बताए । उनले महोत्सव आयोजनाले यस क्षेत्रको अटो व्यवसाय, होटल व्यवसाय, कलाकारले कला देखाउन पाउने थलो बनेको बताए । उनले महोत्सवले सबैको आयस्रोतको बाटो खुल्ने बताए ।
नेकपा गोदावरीका नेता धर्म सिंह कुँवरले सृजनशील युवा क्लबले महोत्सव आयोजना गरेर सृजनशील काम गरेको बताए । अत्तरियामा महोत्सवको थालनी सृजनशील युवा क्लबले नै गरेको बताउँदै पछिल्लो चरणमा रोकिएको महोत्सव सञ्चालन गर्दा यसले सुदूरपश्चिमको व्यवसाय प्रवर्धन हुन मदत पुग्ने बताए ।
उनले क्लबले महोत्सवको लागि तयार पारेको मैदानले अत्तरियामा खुला मञ्चको पनि निर्माण भएको बताउँदै यसको संरक्षणका लागि नगरपालिकाले भूमिका खेल्नुपर्ने बताए ।
नेकपा एमालेका नगर सचिव विक्रम विष्टले निकै चुनौतीका बिच अत्तरियामा महोत्सव सञ्चालन आएको बताए । सृजनशील युवा क्लबका सदस्य समेत रहेका उनले महोत्सव आयोजनाका लागि खुला स्थान नभएको अवस्थामा निकै मिहेनत गरेर खुला स्थान तयार पारिएको बताए ।
गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले महोत्सव सञ्चालन गर्न चुनौतीपूर्ण रहेकाले सबै निकाय सँग समन्वयन गरेर अगाडि बढ्नुपर्ने बताए । उनले महोत्सव सञ्चालनमा कुनै समस्या आएमा गोदावरी नगरपालिका साथमा रहने बताए । उनले महोत्सवमा यस क्षेत्रका कलाकारले मञ्च पाउने र यस क्षेत्रका कृषकले बजार पाउने बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले महोत्सव स्थललाई यस क्षेत्रका जनताले भरपुर फाइदा लिनुपर्ने बताए । उनले विगतका कमजोरीका कारण गोदावरीवासीमा कालो दाग लागेकाले त्यो दाग मेटाउन यो महोत्सव सफल हुने विश्वास व्यक्त गरे ।
नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले महोत्सवले यस क्षेत्रको कला संस्कृति, व्यापार, उद्योग व्यवसाय प्रवर्धन हुने बताइन् । उनले महोत्सव सञ्चालनका लागि नगरपालिकाबाट गर्नुपर्ने सहयोगका लागि आफूहरू प्रतिबद्ध रहेको बताइन ।
नगरप्रमुख वीरेन्द्र भट्टले रोकिएको महोत्सवलाई सञ्चालन गर्ने आट गरेकोमा क्लबलाई धन्यावाद ज्ञापन गरे । उनले महोत्सव सञ्चालनका लागि नगरपालिकाबाट अनुमति दिँदा पनि थुप्रै चुनौती आएको बताउँदै त्यसलाई चिर्दै अगाडि बढ्न सफल भएको बताए ।
‘महोत्सव उद्योग वाणिज्य संघले लगाउनुपर्ने थियो । क्लबलाई दिइयो भनेर विरोध पनि आएको थियो’ उनले भने ‘उद्योग वाणिज्य संघले गत वर्ष पनि आयोजना गर्न सकेन अहिले पनि आयोजना गर्न सक्ने अवस्था थिए । त्यसले कसैले गर्न सक्छ भने किन सहयोग नगर्ने भनेर हामी अगाडि बढेका हौ ।’

सृजनशील युवा क्लबका अध्यक्ष नर बहादुर राईले अत्तरियाको मान प्रतिष्ठा जोगाउनका लागि मात्रै महोत्सव आयोजना गरिएको बताए । ‘हिजोका दिनमा आर्थिक अवस्थाले धान्न नसकेर महोत्सव उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेका थियो’ उनले भने ‘अहिले आएर महोत्सव रोकिएपछि अत्तरियाको मान प्रतिष्ठा जोगाउनका लागि हामी बाध्य भएर अगाडि बढेका हौ ।’
बुधवार देखि अत्तरियामा सुरु भएको ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२’ को गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका थिए । महोत्सव उद्घाटन अघि अत्तरिया बजारमा -याली सहित बजार परिक्रमा गरिएको थियो । महोत्सवमा तेक्वान्दो खेलाडी दीपक विष्टलाई सम्मानित गरिएको छ । महोत्सव पुस १९ गते सम्म सञ्चालन हुने छ ।
महोत्सवमा १८० स्टल रहेका छन् । महोत्सवमा विक्री हुने प्रत्येक टिकटको ५ प्रतिशत अनाथ बालबालिकालाई सहयोग गर्ने र महोत्सवबाट भएको नाफा रकमबाट पनि सामाजिक काम गरिने आयोजकले जनाएको छ । महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको आयोजकले जनाएको छ । जसमा एक करोड कारोबार हुने अपेक्षा लिइएको छ ।












