खाेज्नुहाेस

सुदूरपश्चिम सरकारद्धारा ५ महिनामा २ प्रतिशत पुँजीगत खर्च

Image

धनगढी – बजेट खर्चमा सुदूरपश्चिम प्रदेश सरकार कमजोर देखिएको छ । चालु आर्थिक वर्षको पाँच महिना बितिसक्दासमेत प्रदेश सरकारको पुँजीगततर्फको बजेट खर्च निराशाजनक देखिएको हो । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार मंसिर मसान्तसम्म प्रदेश सरकारले २ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गरेको छ ।

१९ अर्ब ८३ करोड २ लाख ६ हजार रुपैयाँ पुँजीगत बजेट रहेकोमा पाँच महिनामा ४३ करोड १ लाख १० हजार रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक बासुदेव जोशीले जानकारी दिए । गत आर्थिक वर्षको यही अवधिमा सुदूरपश्चिम प्रदेश सरकारले ७ प्रतिशत पुँजीगत बजेट खर्च गरेको थियो । त्यो वर्ष प्रदेश सरकारले आर्थिक वर्ष सुरु भएकै ६३ दिनपछि बजेट ल्याएको थियो ।

attariya hospital
navjiwan hospital

यस्तै, प्रदेश सरकारले चालुतर्फ १५.४५ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार चालुतर्फको २ अर्ब १० करोड ६७ करोड ७६ हजार रुपैयाँ खर्च भएको छ । प्रदेश सरकारले चालुतर्फ १३ अर्ब ६३ करोड ५६ लाख ४२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । पाँच महिनाको अवधिमा प्रदेश सरकारको कुल खर्च भने २ अर्ब ५३ करोड ६८ लाख ८६ हजार रुपैयाँ पुगेको लेखा नियन्त्रण कार्यालयले जनाएको छ । जुन कुल बजेटको ७ प्रतिशत हुन्छ । प्रदेश सरकारले यस वर्षका लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट ल्याएको थियो ।

प्रदेश सरकारको कुल बजेटको झण्डै आधा हिस्सा भौतिक पूर्वाधार विकास मन्त्रालयसँग छ । १५ अर्ब ३२ करोड १७ लाख ४० हजार बजेट पाएको उक्त मन्त्रालयले अहिलेसम्म पुँजीगततर्फ ३५ करोड ५० लाख ९४ हजार र चालुतर्फ १४ करोड ३४ लाख २२ हजार रुपैयाँ खर्च गरेको छ । दोस्रो ठूलो बजेट रहेको सामाजिक विकास मन्त्रालयको प्रगति पनि कमजोर छ । ७ अर्ब पाँच करोड ५२ लाख ९७ हजार रुपैयाँ बजेट पाएको उक्त मन्त्रालयले मंसिरसम्म ८५ करोड ४७ लाख ३९ हजार रुपैयाँ मात्रै खर्च गरेको छ । अन्य मन्त्रालयको प्रगति पनि निराशाजनक छ ।

प्रदेश सरकारले अधिकांश योजनाको कार्यान्वयन चरण बल्ल सुरु गर्ने तयारी भएका कारण तथा जेन–जी आन्दोलनका कारण बजेट खर्चमा प्रगति कम देखिएको जनाएको छ । प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले भने, ‘जेन–जी आन्दोलनको क्रममा मन्त्रालय र मातहतका कार्यालयमा क्षति भएको हुँदा व्यवस्थापनमै समस्या भयो । सोही कारण बजेट खर्चमा प्रगति हुन नसकेको हो ।’