खाेज्नुहाेस

सुदूरपश्चिम प्रहरीको एक महिने उपलब्धि : २७ किलो चरेस र ११८ ग्राम खैरो हेरोइन बरामद

Image
धनगढी – सुदूरपश्चिम प्रदेश प्रहरीले एक महिनामा २७ किलो ५८१ ग्राम चरेस र ११८ ग्राम ४३८ मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । प्रदेश प्रहरी कार्यालयले आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । सो अवधिमा १ किलो २३१ ग्राम गाँजा पनि बरामद गरिएको छ ।  पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गौतम मिश्रले प्रस्तुत गरेको विवरणअनुसार मंसिर महिनामा लागु औषधसम्बन्धी ५६ वटा मुद्दा दर्ता भएका छन् ।
attariya hospital
यस्तै प्रदेशमा एक महिनामै २५६ वटा विभिन्न प्रकृतिका अपराध घटनाका मुद्दा दर्ता भएका छन् । मंसिर महिनामा प्रदेशभर ज्यानसम्बन्धी ३०, चोरीका १३, सङ्गठित अपराधका ५८, सामाजिक अपराधका ३६, महिला तथा बालबालिकासम्बन्धी २५, सवारी ज्यानसम्बन्धी १६ र अन्य ४७ गरी कुल २५६ वटा घटना दर्ता भएका छन् । यसै अवधिमा हातहतियारसम्बन्धी २, मानव बेचबिखनसम्बन्धी १, बैङ्किङ कसुरका ४२, ठगीका २ तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी २७ वटा मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक मिश्रले बताए ।
प्रहरी उपरीक्षक मिश्रका अनुसार सो अवधिमा ५२४ जना प्रतिवादी पक्राउ परेका छन् । चालु मुद्दाका २१४ जना प्रतिवादी पक्राउ भइसकेका छन् भने ८१ जना अझै फरार छन् । यस अवधिमा ११४ वटा मुद्दा फर्छ्यौट भएका छन् भने २ हजार ५ सय ३८ वटा मुद्दा अझै पेन्डिङ अवस्थामा रहेका छन् ।
navjiwan hospital
मंसिर महिनामा प्रहरीले ११ नाल बन्दुक, २ वटा गोली, २ डब्बा बारुद, ३१ बट्टा सानो छर्रा, २ बट्टा सलाई र १ वटा केप बरामद गरेको छ । ९५ लाख ७५ हजार ९ सय ८५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । यसै गरी २ सय लिटर अवैध मदिरा बरामद गरिएको छ भने अवैध वन पैदावार चोरी निकासीमा संलग्न ७ जनालाई पक्राउ गरी १ लाख ५२ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन गरिएको छ ।
यस्तै पछिल्लो मंसिर महिनामा मात्रै प्रदेशभर ३१ जनाले आत्महत्या गरेका छन् । जुन औसतमा दैनिक एक जना हुन आउँछ । प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आत्महत्या गर्नेमा १७ जना पुरुष, ९ जना महिला, २ बालक र ३ बालिका रहेका छन् । प्रदेश प्रहरी कार्यालयले आइतबार धनगढीमा आयोजना गरेको कार्यसम्पादन सम्बन्धी पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गौतम मिश्रले प्रस्तुत गरेको विवरणअनुसार मंसिर महिनामा २९ जनाले झुन्डिएर तथा २ जनाले विष सेवन गरी ज्यान गुमाएका हुन् ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले लागु औषध नियन्त्रणका लागि प्रदेश सरकारसँग सहकार्य गरी विशेष योजना कार्यान्वयन गर्न लागिएको जानकारी दिए । आत्महत्या, सामाजिक अपराध तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि समुदायसँग सहकार्य गर्दै जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए ।