धनगढी – नेपालमा सबैभन्दा थोरै क्षेत्रमा बढी बाघ रहेको सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ ।

बाघको पछिल्लो सङ्ख्या र अवस्था अद्यावधिक गर्ने उद्देश्यले राष्ट्रिय बाघ गणना अन्तर्गत बाघ गणनाको तयारी गरिएको हो । नेपालमा तीन वटा क्लस्टर छुट्याएर बाघ गणना गरिँदै छ ।

तेस्रो क्लस्टर अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको कार्य हुने निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । गणनाका लागि निकुञ्जका तर्फबाट आन्तरिक सबै तयारी पूरा भइसकेको उनको भनाइ छ ।
सन् २०२२ मा गरिएको राष्ट्रिय गणनामा शुक्लाफाँटामा ३६ वटा बाघ अभिलेख भएका थिए तर निकुञ्ज कार्यालयको आन्तरिक अनुगमनमा यस वर्ष ४३ बाघ फेला परेका छन् । गत वर्ष आन्तरिक अनुगमनमा ४४ बाघ क्यामरा ट्र्यापमा परेकामा यस वर्ष एउटा घटेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।

















