खाेज्नुहाेस

युवा संघको आक्रमणविरुद्ध धनगढी र लम्कीमा प्रदर्शन

Image

धनगढी – धनगढीमा जेन्जी युवामाथि एमाले भ्रातृ संगठन युवा संघका कार्यकर्ताले गरेको आक्रमणको विरोधमा जेन्जी युवाहरूले धनगढी र लम्कीमा बिहीबार पनि प्रदर्शन गरेका छन् । कुटपिटमा संलग्नलाई तत्काल कारबाही गर्न माग गर्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन् ।

navjiwan hospital

बुधबार धनगढीमा एमाले नेता महेश बस्नेत आगमन हुने जानकारी पाएपछि उनको विरोधमा उत्रिएका जेन्जी युवामाथि युवा संघका कार्यकर्ताले कुटपिट गरेको आरोप छ । घटनापछि जेन्जी समूहले सोही दिन जिल्ला प्रशासन कार्यालयमा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाही गर्न मागसहित निवेदन दिएका थिए ।

attariya hospital

प्रदर्शनमा रहेको जेन्जी समूहका युवा विष्णु खड्काका अनुसार, प्रशासनलाई कारबाहीका लागि दबाब कायम राख्न आजको प्रदर्शन गरिएको हो । प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई भेटेका युवाहरूले कुटपिटमा संलग्नलाई पक्राउ गर्ने आश्वासन पाएको बताए ।

धनगढीमा भएको घटनाको विरोधस्वरूप लम्कीमा पनि बिहीबार दिउँसो जेन्जी युवाहरू सडकमा उत्रिएका थिए । लम्की बजारमा टायर जलाएर गरिएको विरोधमा उनीहरूले कुटपिट गर्ने व्यक्तिहरूलाई तत्काल पक्राउ गर्न माग गरेका छन ।