अत्तरिया– कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा रोजगारदातासँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । क्याम्पसले बिहिबार विश्वविद्यालय अनुदान आयोगको टोलीसँग स्थानिय रोजगारदातासँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

विश्वविद्यालय अनुदान आयोगको टोलीले क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्ययन अर्थात् क्वालिटी एसुरेन्स एक्रिडेसन (क्युएए) प्रमाणपत्र दिनका लागि अन्तिम चरणको मूल्याङ्कन अनुगमन गरिरहेको छ । जसका लागि क्याम्पससँग जोडिएका विभिन्न विषयवस्तुहरुका बारेमा जानकारी लिने काम टोलीले गरिरहेको छ । सोही सिलसिलामा क्याम्पसका विद्यार्थीहरुलाई रोजगार दिएका रोजगारदाताहरुसँग रोजगारीका समयमा विद्यार्थीहरुको प्रस्तुतीका विषयमा टोलीले जानकारी लिएको हो । त्यसका साथै टोलीले क्याम्पसको विगतदेखी हालसम्मको अवस्था र सुधार भएनभएको विषयमा समेत जानकारी लिएको थियो ।

कार्यक्रममा उपस्थित रोजगारदाताहरुले विद्यार्थीहरुको परफर्मेन्स राम्रो रहेको र क्युएए प्रमाणपत्रले अझै उनिहरुको परफर्मेन्समा सुधार हुने अपेक्षा लिएको बताएका थिए । रोजगारदाताहरुले विगतको तुलनामा क्याम्पसको भौतिक, सामाजिक तथा शिक्षाको गुणस्तरमा फरक आएको बताएका थिए । कार्यक्रममा क्याम्पसमा अझै सुधार हुनुपर्ने पक्षहरुका बारेमा समेत छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै पीआरटी संयोजक प्रा. डा. तीर्थ राज खनियाले आफूहरु क्याम्पसको समग्र गुणस्तर हेरेर प्रमाणपत्र दिन आएको बताए । उनले क्याम्पसका बारेमा रोजगारदाताहरुको सुझाव र चासोलाई मध्यनजर गरिने पनि बताए । उनले सो प्रमाणपत्र यहाँका विद्यार्थीहरुका लागि मात्रै नभई समग्र देशभरका विद्यार्थीहरुका लागि हुने बताए । ‘हामी दिन आएका हौ, रोक्न आएका होइनौँ’ उनले भने ‘क्वालिटि एसुरेन्स दिने भनेको यहाँका विद्यार्थीका लागि मात्रै हैन, यो क्याम्पसले क्युएए पायो भने देशभरका विद्यार्थीहरु यहाँ पठाउन सकिन्छ ।’ उनले क्वालिटी एसुरेन्स गर्ने कम आफैमा चुनौतीपूर्ण भएको बताए । उनले क्युएए प्रमाणपत्रका लागि क्याम्पसको भौतिक प्रगती मात्रै नभई वाहिरी वातावरण पनि हेरिने बताए ।


















