दार्चुला – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजनीतिक र प्रशासनिक नेतृत्व बिचको सहकार्यले मात्र विकास सम्भव रहेको बताएका छन् ।


आइतबार दार्चुलामा आयोजित दार्चुला जिल्लाका पालिका प्रमुखहरू, संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन । ‘कार्यालय–कार्यालय र निकाय–निकायबिचको समन्वय प्रगाढ हुनुपर्छ,’ मुख्यमन्त्री शाहले भने ‘सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका लागि समन्वय र सहकार्य अपरिहार्य छ ।’

उनले चुनावताका बेला जनतालाई गरेका वाचा अनुसार विकास नभएको बताए । उनले भने ‘चुनावताका बेला जनतालाई गरेका वाचा अनुसार विकास नभएको तितो यथार्थलाई स्विकार्दै तपाईँ सबै सच्चिन जरुरी रहेको छ । जेन्जी आन्दोलनको मर्म यही हो ।’

उनले भदौ २३ र २४ गतेको आन्दोलनपछि मुलुकमा संविधान, सरकार र व्यवस्था रहँदैन कि भन्ने दुबिधा चिर्न आफू संवादमा हिँडेको बताए । उनले भने ‘भदौ २३ र २४ गतेको आन्दोलनपछि यो मुलुकमा संविधान, सरकार र व्यवस्था रहँदैन कि भन्ने जुन दुबिधा थियो, त्यो दुबिधा चिर्नका लागि म सम्पूर्ण क्षेत्रमा उपस्थित भएको हुँ, । यो टुरका लागि टुर होइन, अर्थपूर्ण संवादको सुरुवात हो ।’
















