टीकापुर – त्रिदेशीय महत्वको सेती राजमार्ग निर्माणको काम कछुवा गतिमा अघि बढिरहेको छ । निर्माण सुरु भएको १६ वर्षमा ट्रयाक खोल्ने काम समेत सकिएको छैन । कैलालीको टीकापुरदेखी बझाङको ताक्लाकोटसम्मको ३५९ मध्ये हालसम्म २१२ किलोमिटरमा मात्रै ट्रयाक खोलिएको छ ।
राजमार्ग निर्माणको कामलाई दुई भागमा विभाजन गरिएको छ । कैलाली, डोटी, अछाम र बाजुरा जिल्ला हेर्ने गरी सेती राजमार्ग (दक्षिण खण्ड) र बझाङ हेर्ने गरी सेती राजमार्ग (उत्तर खण्ड) नामाकरण गरिएको छ । दक्षिण खण्ड हेर्न अछामको साँफेबगर र उत्तर खण्ड हेर्न बझाङको चैनपुरमा योजना कार्यालय राखिएका छन ।


दक्षिण तर्फको २०४ किलोमिटर मध्ये १३६ किलोमिटरमा ट्रयाक खोल्ने काम सकिएको सेती राजमार्ग (दक्षिण खण्ड) का सूचना अधिकारी केशवदत्त मिश्रले जानकारी दिएका छन । उनका अनुसार कैलालीको टीकापुरदेखी खिमडीसम्मको ७२ किलोमिटरमा ट्रयाक खोल्ने काम सकिएको छ । त्यस्तै अछामको ८० किलोमिटरमा ५८ किलोमिटरमा ट्रयाक खोलिएको छ ।

डोटीको ४० किलोमिटरमा ६ किलोमिटरमा मात्रै ट्रयाक खोलिएको छ भने बाजुराको १२ किलोमिटरमा ट्रयाक खोल्ने काम सुरु हुन सकेको छैन । सूचना अधिकारी मिश्रले डोटीमा रुख काट्ने प्रकृयामा भएको ढिलाई र बाजुरामा खप्तड राष्ट्रिय निकुञ्जका कारण काम ढिलो भएको बताए ।
राजमार्ग निर्माणको काम आव २०६६/०६७ मा सुरु भएको थियो । करिव एक दशक निर्माणको काम सडक डिभिजन कार्यालय महेन्द्रनगरले आफै हेर्यो । आव २०७४/०७५ मा भने दुई छुट्टाछुट्टै योजना कार्यालय स्थापना गरेर काम अघि बढाईयो । त्यसपछिका वर्षहरुमा भने राजमार्ग निर्माणको कामले केही हदसम्म गति लिएको सूचना अधिकारी मिश्र बताउँछन ।

उनले प्रयाप्त बजेट विनियोजन नभएका कारण पनि काम सुस्त भैरहेको बताए । राजमार्ग निर्माणमा १६ अर्ब लागत अनुमान गरिएको छ । चालु आवमा २५ करोड मात्रै बजेट विनियोजन भएको छ ।
राजमार्गमा पर्ने विभिन्न ठूला साना नदी÷खोलाहरुमा पुल निर्माणको काम भैरहेको छ । मोहन्याल गाउँपालिका वडा नम्बर ३ कोल्तडीस्थित झाप्री खोलामा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बर्दगोरीया गाउँपालिकाका कुईरे खोला र काँडा खोलामा पुल निर्माण भैसकेको छ । कैलाली र डोटीको सिमानामा पर्ने ठूलीगाड र डोटी र अछामको सिमानामा पर्ने सेती नदीमा पुल निर्माणको प्रकृया सुरु हुन सकेको छैन ।
उता सेती राजमार्ग (उत्तर खण्ड) को १५५ किलोमिटर मध्ये ७६ किलोमिटरमा ट्रयाक खोल्ने काम सकिएको योजना प्रमुख बिरेन्द्रकुमार यादवले जानकारी दिए । उनले बाजुरा र बझाङको सिमाना थामलेकदेखी चैनपुरसम्मको ३६ र चैनपुरदेखि ताक्लोटसम्मको ४० किलोमिटरमा ट्रयाक खोलेको बताए । उनका अनुसार चैनपुरदेखी ताक्लाकोटसम्मको सडकमा भौगोलिक कठिनाईले ट्रयाक खोल्ने काम सुस्त भैरहेको छ । ‘कडा चट्टान छन । निकै भौगोलिक समस्या छ’ उनले भने–‘तैपनि छिटो गर्ने प्रयास भैरहेको छ ।’
उनले बजेट विनियोजनको अवस्थाले पनि राजमार्ग निर्माणको काम प्रभावित भैरहेको जानकारी दिए ।















