बैतडी– बैतडी कारागारको नयाँ भवन निर्माण गरिने भएको छ । जीर्ण अवस्थामा रहेको कारागार भवन अब नयाँ निर्माण गरिने भएको हो ।

नयाँ भवन निर्माणका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको कारागार कार्यालय बैतडीकी प्रमुख धारा भण्डारीले बताईन् । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय डोटीले निर्माण कम्पनीसँग सम्झौता गरिसकेको र कार्तिक महिनाको अन्तिम सातादेखि कैदीबन्दी तथा थुनुवाहरूको स्थानान्तरण कार्य सुरु गरिने प्रमुख भण्डारीले बताईन ।


उनका अनुसार स्थानान्तरणपछि थुनुवाहरूलाई डडेल्धुरा कारागारमा र कैदीबन्दीहरूलाई देशका विभिन्न कारागारमा पठाउने योजना रहेको छ । नयाँ भवन निर्माणका लागि १० करोड रुपियाँ बजेट विनियोजन गरिएको बताईएको छ । भवन निर्माणका लागि केकेजे कालिका एस बी जेभी सुकेधारा कम्पनीसँग सम्झौता गरिएको निर्माण आयोजना कार्यालय डोटीले जनाएको छ ।
सन् १९८३ (२०४० साल) मा निर्माण गरिएको पुरानो बन्दीगृहमा २५ जनासम्म बस्न सक्ने क्षमता भए पनि हाल ६१ जना कैदी तथा थुनुवा रहेका छन । नयाँ भवन बनेपछि बन्दीगृह व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ ।

















