अत्तरिया– कैलालीमा जीपको ठक्करबाट एक जनाको मृत्यु भएपछि अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग सूचारु भएको छ । राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आइतबार बिहान जिपको ठक्करबाट एक जनाको मृत्यु भएपछि अवरुद्ध बनेको राजमार्ग सूचारु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु २ च २३५८ नम्बरको तरकारी बोकेको जिपको ठक्करबाट साइकलमा सवार साइकल यात्री बर्दगोरिया गाउँपालिका–६, कोटा तुल्सिपुर बस्ने ५५ वर्षीय शंकर डगौराको मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको थियो । ठक्करबाट गम्भीर घाइते डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।


घटनापछि आक्रोशित स्थानीयहरूले निष्पक्ष छानबिन र मृतकका परिवारलाई न्यायको माग गर्दै राजमार्ग बन्द गराएका थिए। त्यसकारण सवारी आवागमन ठप्प भएको थियो। तर जीप मालिक आइरहेका र त्यसपछि बार्तामा बस्ने निस्कर्ष निकाल्दै तत्कालका लागि राजमार्ग सूचारु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सो दुर्घटनामा पैदल यात्री घोडाघोडी नगरपालिका–२, साडेपानीका ५४ वर्षीय पदम बहादुर शाही, बर्दगोरिया गाउँपालिका–६, कोटा तुल्सिपुर बस्ने ५४ वर्षीय हर्क बहादुर डगौरा र बर्दगोरिया–६ कै २५ वर्षीय कृष्ण डगौरा घाइते भएका छन् । उनीहरूको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । जिप र चालक रोल्पाको त्रिवेणी गाउँपालिका–४ बस्ने २३ वर्षीय सन्तोष घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

















