बैतडी– जिल्ला प्रशासन कार्यालय बैतडीले जेन जी आन्दोलनका क्रममा घाईते भएकाहरुलाई घाईते परिचयपत्र वितरण गर्न लागिएको भन्दै सूचना जारी ग¥यो । गृह मन्त्रालयको असोज २० गतेको पत्रानुसार भन्दै मंगलबार जारी गरिएको सूचनामा बैतडीका ६ जनाको नाम समावेश गरिएको थियो । जसमा जेन जी को आन्दोलनका क्रममा निधन भएका दिपक साउँदको नाम समेत समावेश गरिएको छ ।
गत भदौ २३ र २४ गते भएको जेन–जी को प्रदर्शनका क्रममा गोली लागेर गम्भीर घाइते भएका साउँदको उपचारका क्रममा निधन भएको थियो । बैतडीको शिवनाथ गाउँपालिका– २ का साउँदको आन्दोलनका क्रममा निधन भैसकेपनि जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले पठाएको घाईतेहरुको सूचिमा भने उनको नाम समावेश गरिएको हो ।



जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम गौतमले गृह मन्त्रालयले उपलब्ध गराएको सूचि अनुसार नाम सार्वजनिक गरिएको बताएका छन् । उनले नाम समावेश भएको भएपनि व्यक्ति एकिन गरेर मात्रै घाईते परिचय पत्र दिईने बताए । ‘‘हामीले गृहमन्त्रालयले उपलब्ध गराएको सूचना प्रकाशन गरेका हौं’ उनले भने ‘सूचीमा नाम सार्वजनिक भएका व्यक्ति एकीन गरेर मात्रै परिचय पत्र वितरणको काम हुन्छ ।’
आन्दोलनका क्रममा निधन भएका व्यक्तिका परिवारलाई सरकारका तर्फबाट दिईने १५ लाख रुपैया साउँदको परिवारलाई प्रदान गरिसकिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । जेन जीको आन्दोलनका क्रममा घाईते भएका व्यक्तिहरुलाई सरकारले ‘जेन जी आन्दोलन घाईते परिचयपत्र’ वितरण गर्न थालेको हो । जसमा जिल्ला प्रशासन कार्यालयलाई साउँद सहित ६ जनाको नाम दिईएको छ । जसमा मनिष ठगुन्ना, हरिष भुल, बासु पुजारा, लक्ष्मण भण्डारी र हरिकृष्ण भट्ट रहेका छन ।
आन्दोलनमा घाईते भएका र सूचिमा समावेश भएकाहरुलाई आफ्नो परिचय पत्र लैजान प्रशासन कार्यालयले अनुरोध गरेको छ ।


















