खाेज्नुहाेस

साना गाडीको छतमा ठेलमठेल सामान, दुर्घटनाको जोखिम

Image

अत्तरिया – सुदूरपश्चिमको तराइका जिल्लाबाट पहाडमा चल्ने साना सवारी साधनको छतमा ठेलमठेल सामान भर्ने गरिएको छ । पछिल्लो समय अत्तरिया हुँदै डडेल्धुरा, डोटी, अछाम, बझाङ लगायतका जिल्लामा चल्ने इभी गाडीहरूले छतमा क्षमताभन्दा बढी सामान बोक्ने गरेका छन् । दसैँ, तिहार, छठ पर्व सकिए पनि सुदूरपश्चिमका पहाडी जिल्लामा जात्रा (जात) को रौनक सुरु भएको अहिले पहाड जाने यात्रुको चाप बढेका बेला यसरी क्षमता भन्दा बढी यात्रु र सामान बोकिदा दुर्घटनाको जोखिम बढेको हो ।

८/१० जना मात्रै यात्रु बोक्ने क्षमताका यस्ता साना गाडीमा छतमा धेरै लोड राखिदा पल्टिने वा दुर्घटना हुने जोखिम बढी हुने गरेको यातायात व्यवसायी पदम सापकोटाले बताए । सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष समेत रहेका उनले साना गाडी पहाडी जिल्लाको लामो रुटमा यात्रु बोकेर चलाउन नै जोखिम भएको बेला ओभर लोड सामान हालेर चलाउनु झन् जोखिम हुने बताए ।

add everest academy
attariya hospital

‘विशेष गरेर इभी गाडीहरू पहाडको लामो रुटमा चलाउन उपयुक्त गाडी नै होइनन् । ब्याट्रीको भरमा चल्ने यी गाडीहरू फाइबरबाट बनेका हलुका हुन्छन् । यी गाडीको ब्याट्री कम भयो भने ब्रेक नै नलाग्ने हुन्छ’ उनले भने ‘यस्ता गाडी तराइका लागि उपयुक्त भए पनि लामो रुटमा पहाडमा जोखिमयुक्त हुन्छन् । त्यसैमा ओभर लोड सामान हालेर चलाउँदा गाडी दुर्घटना हुने जोखिम झन् बढ्छ ।’ उनले जोखिम बढी भएकाले आफ्नो यातायात प्रालिले पहाडको लामो रुटमा यस्ता गाडी चलाउन अनुमति नदिएको बताए ।

navjiwan hospital

सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राका लागि जाने यात्रुको चाप बढेसँगै अहिले अत्तरियाबाट दैनिक दर्जनौँको सङ्ख्यामा साना इभी गाडी यात्रु बोकेर जाने गरेका छन् । यस्ता गाडी वातावरण मैत्री भए पनि बढी नाफा कमाउने लोभमा क्षमता भन्दा बढी लोड हाल्दा जोखिम बढेको यात्रु दीपक चन्दले बताए । अत्तरियाबाट डडेल्धुराको यात्रा गरिरहेको उनले गाडी भित्र यात्रु भरेर गाडीको माथि अत्यधिक सामान राखिदा गाडी पल्टिने पो हो कि भन्ने डर लागिरहेको बताए । उनले सामान धेरै नहाल्नुस् भन्दा यात्रुकै सामान भएकाले कहाँ हाल्ने भनेर उल्टै हप्काउने गरेको बताए ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख एसपी प्रेम बहादुर शाहीले गाडी भित्र बसेका यात्रुको सामान राख्न पाइने भए पनि व्यवसायी प्रयोजनको सामान राख्न नपाइने बताए । उनले यस्ता गाडीमा भित्र ठाउँ कम हुने भएकाले यात्रुको सामान छतमा राख्ने गरिएको भए पनि धेरै राख्न नहुने बताए । ‘व्यक्तिगत समान राख्न पाइयो धेरै सामान त राख्न पाइँदैन’ उनले भने ‘त्यसमा ८/१० जना अटाउन्न । व्यक्तिगत सामान भित्र हाल्न अटाउँदैन । ठ्याकै कति राख्न पाउने भन्ने मापदण्ड छैन ।’

attariya technical collage

यद्यपि सुदूरपश्चिमका तराइका जिल्लाबाट पहाडी जिल्लामा चल्ने साना गाडी मात्रै नभएर ठुला गाडीहरूले पनि यात्रुको भन्दा व्यवसायी सामान बोक्ने गरेका छन् । यसरी सामान बोक्ने क्रम चलिरहँदा पनि नियमित गर्ने निकाय भने सक्रिय हुन सकेको छैन ।

विशेष गरेर चाडपर्वका समयमा क्षमता भन्दा बढी यात्रु र सामान बोक्ने गरिँदै आएको छ । सुदूरपश्चिमको पहाडी जिल्लाहरूमा दसैँ तिहार मात्रै नभएर जात्राको बेला पनि निकै चहलपहल हुने गरेको छ । जात्राको समयमा पहाडी जिल्लामा रहेका विभिन्न शक्तिपिठहरुमा मेला लाग्ने पूजापाठ र बली चढाउने गरिन्छ ।