कञ्चनपुर – सोमबार साँझ लक्ष्मी पूजाको दिन कफिनमा घर पुगेका कञ्चनपुरको भीमदत्त नगरपालिका ३ बिचपुरी टोलका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित महाकाली नदीको आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । प्यालेस्टिनी लडाकु समूह हमासद्वारा बन्धक बनाइएका बेला ज्यान गुमाएका विपिनको महाकाली आर्यघाटमा आज अन्तिम संस्कार गरिन लागेको विपिनका दाइ किशोरले बताएका छन् । विहान ८ बजे निवासबाट शवयात्रा सुरु हुने छ ।
विपिनको शव सोमबार मात्रै नेपाल पुगेको थियो । उनको शव सोमबार साँझ नै सेनाको स्काई ट्रक मार्फत धनगढी विमानस्थलमा पुगाइएको थियो । त्यहाँबाट धनगढी उपमहानगरपालिकाको शव वाहनमा शव घर सम्म पुगाइएको थियो । प्यालेस्टिनी लडाकु समूह हमासद्वारा बन्धक बनाइएका बेला ज्यान गुमाएका विपिनको शव दुई वर्षपछि घरमा पुगेको हो ।


विपिनको शव घरमा पुगेपछि नेपालका लागि इजरायली राजदूत स्मुलिक एराई बास दूतावासका कर्मचारीसहित घरमा पुगेका छन् । उनले परिवारका सदस्यहरूसँग भेट गरेका छन् ।

विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा उल्लेख गरिएको छ । इजरायलको ‘द नेसनल सेन्टर आफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ । तर कुन समयमा भन्ने उल्लेख छैन ।
विपिनको मृत्युको कारणमा भने इजरायल र हमासले एक अर्कालाई आरोप लगाएका छन् । इजरायली सेनाको हवाई आक्रमणमा परी विपिन मारिएको हमासको दाबी छ भने इजरायलले हमासले हत्या गरेको दाबी गरेको छ ।

हमासले २५१ जना बन्धक बनाएर लगेको थियो । तीमध्ये इजरायलले ३३ जना बन्धकको शव पाएको थियो ।
७ अक्टोबर २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका ४९ जना विद्यार्थीहरू दुई वर्षअघि ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए ।
उनीहरू इजरायल पुगेको महिना दिन नपुग्दै हमासको आक्रमणमा परेका हुन् । विपिनलाई भने सोही दिन बन्धक बनाइएको थियो । बन्धक बनाएकै अवस्थामा विपिनको मृत्यु भएको सोमबार पुष्टि भएको हो । इजरायल र हामास बीच युद्ध विराम भएपछि सोमबार शव हस्तान्तरण गरिएको थियो ।