अत्तरिया – गत वर्ष दसैँ अगावै अत्तरिया बजारमा अनुगमन गरिएको भए पनि यस वर्ष भने बजारमा अनुगमन गरिएन । वर्षमा एक दुई पटक त्यो पनि दसैँ तिहार लक्षित अनुगमन गरिने गरिएको भए पनि यस वर्ष भने उक्त अनुगमन गर्न पनि चासो दिइएन । दसैँ तिहार लगायतका ठुला चाडपर्वको मुखमा बजारमा अखाद्य बस्तु बिक्री गर्ने बढी जोखिम हुने भन्दै अनुगमन गरिँदै आएको थियो ।
अत्तरिया बजारमा वैशाख अन्तिम साता अनुगमन गरिएको थियो । ६ महिना अघि गोदावरीमा ३ दिन सम्म गरिएको उक्त अनुगमनमा डेढ लाख बढीको अखाद्य वस्तुहरू बरामद गरिएको थियो । गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाको नेतृत्वमा भएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी पनि सहभागिता रहेको थियो । अनुगमनमा पहिलो पटक प्रयोगशाला सहितको गाडी समेत प्रयोग गरिएको थियो ।


खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले चाडपर्व लक्षित अत्तरियामा अनुगमन नगरिए पनि कैलाली र कञ्चनपुरका विभिन्न बजारमा अनुगमन गरिरहेको जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीकी खाद्य अनुसन्धान अधिकृत आरती भट्टले दसैँ तिहार लक्षित गरेर कैलालीको धनगढी, भजनी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका, भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकामा अनुगमन गरिएको बताइन् । उनले गोदावरी नगरपालिकामा चाडपर्व लक्षित अनुगमन नभए पनि भदौ महिनामा दूध डेरीको मोबाइल भ्यान सहित अनुगमन गरिएको बताइन् ।

गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले आफ्नो स्वास्थ्य अवस्था ठिक नभएको र, जेन जी आन्दोलनका कारण उत्पन्न परिस्थितिले बजार अनुगमन गर्न नसकिएको बताइन् ।
गोदावरी नगरपालिकाले बनाएको बजार अनुगमन निर्देशिका २०७५ मा मासिक रूपमा योजना बनाई अनुगमन गर्नुपर्ने उल्लेख छ । तर, उक्त निर्देशिका लत्त्याउँदै वर्षमा एक दुई पटक मात्रै अनुगमन हुँदै आएको छ । अनुगमन गरिएको समयमा छ्यापछ्याप्ती अखाद्य बस्तु भेटिदा पनि त्यसलाई नियन्त्रण गर्न नियमित अनुगमन गर्नुपर्नेमा कहिले समय नभएको, कहिले बजेट नभएको भन्दै अनुगमन गर्नबाट पन्छिने गरिएको छ ।

अत्तरिया बजार सुदूरपश्चिमका नौ जिल्लाकै संगम स्थल भएकाले नियमित उपभोक्ता भन्दा कहिले काहीँ आउने जाने बढी हुन्छन् । चारैतिर राजमार्गले जोडिएको बजारमा अखाद्य बस्तुको बिक्री हुने जोखिम बढी भए पनि यहाँ अनुगमनमा भने बेवास्ता गरिँदै आएको छ ।
बजार अनुगमन नहुँदा विशेष गरेर तिहारमा खाद्यान्नमा उपभोक्ता ठगिने जोखिम बढी हुने गरेको छ । अत्तरिया बजारमा खुला रूपमा सडक किनारामा मिठाई बिक्री गरिने भएकाले आकर्षक देखाउने प्रतिस्पर्धा चल्ने गरेको भए पनि ती स्वास्थ्यका दृष्टिकोणले कति स्वच्छ छन् भन्ने बारेमा पनि स्थानीय सरकार, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कसैको पनि ध्यान पुग्ने गरेको छैन ।