अछाम – अछामको चौरपाटी गाउँपालिका-७ मार्कुलाई छाउपडी गोठ मुक्त गाउँ बनाएको नेपाल प्रहरी अमेरिकामा ‘हर्मन गोल्डस्टेइन अवार्ड’मार्फत सम्मानित भएको छ ।
नेपाल प्रहरीले अछामको दुर्गम गाउँमा छाउपडी प्रथा अन्त्यका लागि सञ्चालन गरेको समुदाय–प्रहरी साझेदारी परियोजनामार्फत अन्तर्राष्ट्रिय अर्वाड प्राप्त गरेको हो । प्रहरीको यो परियोजना विश्वप्रसिद्ध ‘हर्मन गोल्डस्टेइन उत्कृष्ट समस्या–मुखी प्रहरी सेवाको’ उत्कृष्ट परियोजनामा छनोट भएको प्रहरी नायब उपरीक्षक एवं अछामका पूर्व प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताए ।


प्रहरीका तर्फबाट परियोजना प्रस्तुत गर्ने टोलीमा प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवर, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारी र प्रहरी निरीक्षक प्रतिमा कार्की अमेरिका गएका थिए । अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसन सहरमा अक्टोबर १३ देखि १५ सम्म कार्यक्रम भएको हो ।

अमेरिकाको एरिजोना स्टेट विश्वविद्यालयको आयोजनामा भएको नेपाल प्रहरीले ‘सामाजिक रुपान्तरणका लागि समुदाय–प्रहरी सहकार्यःअछामको मार्कु गाउामा छाउपडी प्रथा अन्त्य अभियान’ सम्बन्धी प्रस्तुतिकरण गरेको थियो ।
प्रहरीले समुदायमै काम गरेर प्राप्त गरेको पहिलो अन्तराष्ट्रिय अवार्ड ‘हर्मन गोल्डस्टेइन अवार्ड’ रहेको र यसले नेपाल प्रहरीमा इतिहास रचेको भण्डारीले बताए । ‘अछाममा बसेर प्रहरी प्रमुखको रुपमा जुन काम गरियो सोही कामले पाएको अवार्ड लिन अमेरिका जानु मेरा लागि खुसीको क्षण हो,’ भण्डारीले भने ,‘समुदायमा काम गरेर अन्तराष्ट्रिय अवार्ड पाएको यो नै पहिलो हो । छाउपडी प्रथा हटाउनका लागि प्रहरीलाई थप जिम्मेवार बनाएको छ ।’

नेपाल प्रहरीले यो मोडेललाई सुदूरपश्चिम र कर्णालीका अन्य जिल्लाहरूमा पनि विस्तार गर्न सकिने निष्कर्ष निकालेको उनले बताए ।
यो पुरस्कार अमेरिकी अपराधशास्त्री प्रोफेसर हर्मन गोल्डस्टेइनको नाममा सन् १९९३ देखि हरेक वर्ष प्रदान हुँदै आएको हो । गोल्डस्टेइनले सन् १९७९ मा समस्यामुखी प्रहरी सेवाको अवधारणा प्रतिपादन गर्दै प्रहरीलाई अपराधपछि मात्र प्रतिक्रिया जनाउने प्रणालीबाट हटाएर सामाजिक समस्या पहिचान र दीर्घकालीन समाधानतर्फ उन्मुख गराएका थिए ।