धनगढी – निर्वाचन आयोगमा निवेदन दिएर दल दर्ताको प्रक्रियामा रहेको गतिशील लोकतान्त्रिक पार्टीले १६ वर्षमा स्वतः सदस्यता खारेज हुने प्रावधान ल्याएको छ । नयाँ पुराना जुनसुकै पुस्ताका मानिस पार्टीमा आवद्ध भएपनि १६ वर्ष मात्रै पाटीमा काम गर्न पाउने प्रावधान ल्याइएको हो ।
धनगढीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष डा. दिनेश पर्साइले १६ वर्षमा सदस्यता खारेज भएपनि नविकरण नहुने प्रावधान पार्टीले आफ्नो विधानमै समावेश गरेको बताइएको बताए । यस व्यवस्थाले पार्टीमा निरन्तर नवीकरण र नयाँ नेतृत्वको अवसर सुनिश्चित हुने उनले बताए । ‘हामी पुरानोलाई मात्र होइन, नयाँ पुस्तालाई पनि समान अवसर दिने पक्षमा छौं । त्यसैले सदस्यता १६ वर्षभन्दा बढी रहँदैन,’ पर्साइले भने ।


त्यस्तै, पार्टीका पदाधिकारीहरूले कुनै पनि तहको निर्वाचनमा प्रत्यक्ष उम्मेदवारका रूपमा भाग लिन नपाउने नियम पनि लागू गरिएको अध्यक्ष पर्साइले स्पष्ट पारे । उनका अनुसार, यस कदमले संगठन र निर्वाचनबीचको शक्ति सन्तुलन कायम गर्न मद्दत गर्नेछ । ‘पार्टी र चुनावी प्रणाली फरक हुनुपर्छ । पार्टी चलाउनेले उम्मेदवार नबन्ने हुँदा निष्पक्षता रहन्छ,’ उनले भने । पार्टीले आफूलाई लोकतान्त्रिक मूल्य र विधिमा आस्था राख्ने प्रगतिशील दलका रूपमा प्रस्तुत गरेको छ । अध्यक्ष पर्साइका अनुसार, गतिशील पार्टीले वर्तमान संविधान र व्यवस्थाभित्र रहँदै सुशासन, रोजगार र पारदर्शी शासनका एजेन्डा अघि सारेको छ ।

उनले पार्टीले कुनै पनि हालतमा २० प्रतिशतभन्दा कम मत पाए सरकारमा सहभागी नहुने स्पष्ट नीति लिएको जानकारी पनि दिए । ‘जनताको विश्वास बिना सरकारमा जानु नैतिकताविपरीत हो । हामी जनमतको बलमा मात्रै सरकारमा जानेछौं,’ उनले भने । पार्टीले विचार मिल्ने दलहरूसँग सहकार्यको ढोका खुला रहेको पनि जनाएको छ ।
योजना अगावै दल दर्ता

पार्टीका अध्यक्ष प्रसाईंले २०८४ को निर्वाचनलाई लक्षित गरेर आउँदो माघमा दल दर्ता गरेर अघि बढ्ने योजना रहेको भएपनि जेनजी आन्दोलनले चाडो दर्ता गर्नु परेको बताए । मुलुकको राजनीतिक अवस्थाबारे दुई वर्षदेखि चासो दिएर निकासबारे योजना बनाइरहेको सुनाएका प्रसाईंले ६ महिना अघि मात्र राजनीतिक दल बनाएर अघि बढ्ने निष्कर्षमा पुगिएको बताए ।
‘नेपालको राजनीतिको बारेमा नजिकबाट नियालिरहेका थियौं । करीब दुई वर्ष अगाडिदेखि यो किसिमको राजनीतिले समाजलाई कहाँ पुगाउछ भन्ने थियो । त्यही बेलादेखि विकल्प के हुन्छ ? भन्ने हिसाबले छलफल गरेका थियो । यसमा काम गरिरहेका थियौं’, प्रसाईंले भने, ‘६ महिनाअघि दल खोल्ने निष्कर्षमा पुगेपछि २०८४ को चुनावलाई लक्षित गरेर माघमा दर्ता गर्ने योजना थियो । तर जेनजी आन्दोलनले योजना मुताविकभन्दा पनि छिट्टै दर्ता गर्न प-यो ।’
फागुनमा हुने निर्वाचनमा सहभागी हुनका लागि निर्वाचन आयोगले अहिले नै दल दर्ता प्रक्रिया अघि बढाएकाले योजनाअनुसार पार्टीको नीतिगत कुराहरु सार्वजनिक गर्न नसकिएको बताए । राजनीतिलाई नयाँ ढंगले पुर्नःपरिभाषित गर्नुपर्छ भन्ने हिसाबले दल खोलेर राजनीतिमा आएका उनको भनाई थियो । राजनीतिक दलले दुरदराजका समेत आम नागरिकको समस्या पहिचान र सम्बोधन गर्नुपर्ने भएकाले पहिलो रोजाई सुदूरपश्चिम परेको उनी बताउँछन् ।