काठमाडौं – अफगानिस्तानको पक्तिका प्रान्तमा पाकिस्तानले गरेको हवाई हमलामा परी तीन क्लब क्रिकेटर सहित आठ जना नागरिकको मृत्यु भएको छ ।
यस घटनाको पुष्टि गर्दै अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले विरोधस्वरूप नोभेम्बरमा पाकिस्तानमा हुने त्रिकोणीय टी–२० शृंखलाबाट बाहिरिने निर्णय गरेको छ । एसीबीले शुक्रबार साँझ पाकिस्तानबाट भएको यस हमलाको कडा शब्दमा निन्दा गरेको छ ।


पाकिस्तानको तर्फबाट भएको हमलामा क्लब स्तरका तीन क्रिकेटरहरू कबीर, सिब्घतुल्लाह र हारून सहित पाँच अन्य नागरिकहरूको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।
एसीबीका अनुसार, मृत्यु भएका तीनै जना खेलाडीहरू पक्तिका प्रान्तको राजधानी शरानामा एउटा मैत्रीपूर्ण क्रिकेट म्याच खेलेर फर्किंदै गर्दा उनीहरूमाथि हमला भएको थियो ।

खेलाडीहरूको सम्मान र यस दुखद घटनाको प्रतिक्रियास्वरूप एसीबीले आगामी नोभेम्बरको अन्त्यमा पाकिस्तान, अफगानिस्तान र श्रीलंकाबीच हुने त्रिकोणीय टी–२० शृंखलाबाट पछि हटेको घोषणा गरेको छ ।
प्रस्तावित टी–२० शृंखला नोभेम्बर १७ देखि २९ तारिखसम्म लाहोर र रावलपिण्डीमा हुने तय भएको थियो । अफगानिस्तानले पाकिस्तानी भूमिमा पाकिस्तानसँग क्रिकेट खेल्न लागेको यो पहिलो पटक हुनेवाला थियो ।

यस संवेदनशील घटना र एसीबीको निर्णयबारे पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
अफगानिस्तानको तालिवान सरकारले पाकिस्तानमाथि नागरिक क्षेत्रलाई निशाना बनाएको आरोप लगाएको छ, जबकि पाकिस्तानले आफूले आतंकवादीहरूका अखडाहरूमा कारबाही गरेको दाबी गर्दै आएको छ ।