काठमाडौं – हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्ष अघि नै हत्या भएको पाइएको छ । इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा उनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको देखिएको बीबीसी लगायतका सञ्चारमाध्यमले जनाएका छन ।
आईडीएफले गाजा युद्धको प्रारम्भिक महिनातिरै “नेपाली विद्यार्थी विपिन जोशीको बन्धक अवस्थामै हत्या भएको हुन सक्ने“ जनाएको छ । हमासले हस्तान्तरण गरेको शव विपिन जोशीकै भएको डीएनए परीक्षणबाट पनि पुष्टि भएको छ । उनको प्राकृतिक मृत्यु नभइ हत्या नै भएको रिपोर्ट आएको छ ।



उनको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी) ले सैनिक अस्पताल लगेर डीएनए गरेको थियो । यसबारे नेपाली इजरायलस्थित दूतावासले औपचारिक रुपमा जानकारी गराएको छैन । स्रोतका अनुसार, परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीलाई यसको औपचारिक जानकारी भएपछि विपिनको डीएनए परीक्षणको रिपोर्टबारे सार्वजनिक गराउने तयारी छ ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए भने हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।
त्यसयता उनको अवस्था अज्ञात थियो । इजरायल र हमासबीच युद्धविराम भएपछि मंगलबार बिहान मात्रै इजरायली सेनाका अधिकारीले विपिनको मृत्यु भएको पुष्टि भएको औपचारिक जानकारी दिएका थिए । बन्दीहरु मुक्त गर्ने क्रममा हमासले विपिनको शव मंगलबार हस्तान्तरण गरेको थियो ।
