धनगढी – जेन–जी आन्दोलनका क्रममा ध्वस्त बनाइएका कैलालीस्थित विभिन्न कार्यालयहरूमा सरसफाइ गरेर अस्थायी रूपमा पुनःसञ्चालनको प्रयास सुरु गरिएको छ । आगजनीबाट पूर्ण रूपमा क्षति भएको धनगढीस्थित त्रिनगर भन्सार कार्यालय सरसफाइ गरेर अत्यावश्यक सेवा सुरु गरिएको भन्सार प्रमुख अनन्तप्रसाद तिम्सिनाले बताए ।
कैलालीको भुमिसुधार तथा मालपोत कार्यालय आगजनी र तोडफोडमा परेपछि अहिले पुनः मर्मत सुरु भएको छ । गत भदौ २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त कार्यालयले तत्काल सेवा सुचारु गर्न सरसफाइ र मर्मतको काम अघि बढाएको हो । जेनजी युवा पुस्ताको आन्दोलनका क्रममा मालपोत कार्यालयमा भएका कुर्सी, टेबलदेखि लिएर २५ वटा कम्प्युटर सेटसमेत जलेर नष्ट भएका छन् । आगजनीसँगै केही कम्प्युटर चोरीसमेत भएको कार्यालय प्रमुख प्रेम बहादुर दौल्यालले बताए । कार्यालयको विद्युत र इन्टरनेट सेवा ठप्प भएको उनले बताए । केही महत्वपुर्ण ढड्डाहरु आगजनी हुनबाट जोगिएको बताउँदै दौल्यालले केही कागजात भने पुर्ण रुपमा नस्ट भएको जानकारी दिए ।



कार्यालयमा ठूलो क्षति भएको छ । कार्यालयले अहिले प्राथमिकताका आधारमा सरसफाइ र मर्मतलाई तीव्रता दिएको छ । विद्युत वायरीङ र नयाँ कम्प्युटर उपलब्ध हुनेबित्तिकै सेवा सुचारु गर्न सकिने कार्यालय प्रमुख दौल्यालको भनाइ छ । उनका अनुसार कार्यालयका सेवा चाँडो भन्दा चाँडो सुरु गर्ने तयारी भइरहेको छ ।
यस्तै पालिका भवनसहित सम्पूर्ण वडा कार्यालय पनि ध्वस्त पारिएको घोडाघोडी नगरपालिकाको १ नम्बर वडामा वैकल्पिक भवनमा व्यवस्था गरेर बिहीबारदेखि राजश्व संकलन, नागरिकता सिफारिसलगायतका अत्यावश्यक कार्य सुरु गर्ने वडाध्यक्ष घनश्याम ओझाले बताए ।
सम्पूर्ण वडा कार्यालयसहित आगजनी गरिएको कैलारी गाउँपालिकाले पालिका भवनमा वैकल्पिक व्यवस्था गरेर सामाजिक सुरक्षा रकमका काम सुरु गर्न लागिएको जनाएको छ । जिल्ला अदालत कैलालीका कर्मचारी पनि दुई दिनअघि देखि नै सरसफाइमा जुटिरहेका छन् । यता मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि कर्मचारीहरूले सरसफाइ सुरु गरेका छन् ।
