बझाङ – सुदूरपश्चिमको मुख्य पर्यटकीय गन्तव्य खप्तडमा पर्यटकको आवास सुविधाका लागि ६ वर्ष अघिदेखि निर्माणाधीन भवन अझै प्रयोगमा आउन सकेका छैनन । अर्कोतिर सुविधायुक्त आवासको अभावमा ‘भूस्वर्ग’का नामले चर्चित खप्तड पुगेका पर्यटक अव्यवस्थित बसाइको तितो अनुभव बोकेर फर्कने गरेका छन् ।
खप्तड राष्ट्रिय निकुञ्जको मुख्य ब्यारेक नजिक बन्न लागेको ८० बेड र डोटीको बाटो भएर आउजाउ गर्ने पर्यटकका लागि बिचपानीमा बन्न लागेको २० बेड क्षमताका ८ वटा भवन ६ वर्षदेखि अलपत्र परेका हुन् ।


१ सय ५० जना पर्यटकलाई सुविधायुक्त तरिकाले बास बस्न मिल्ने भवन निर्माणको ठेक्का प्रक्रिया २०७६ सालमा नै सुरु भएको थियो । नेपाल पर्यटन बोर्डले २०७५/०७६ मा भवन निर्माणका लागि विनियोजन गरेको ५ करोड रकममध्येबाट टीडीआर एन्ड बीजी जेभी कम्पनीसँग मूल्य अभिवृद्धि करबाहेक ४ करोड १३ लाखमा ठेक्का सम्झौता भएको थियो ।

खप्तड राष्ट्रिय निकुञ्जले प्रिफ्याब प्रविधिमा आधारित ती भवन निर्माणका लागि उक्त कम्पनीलाई ७ महिनाभित्र काम सम्पन्न गर्ने गरी ०७६ चैतमै स्वीकृति दिएको थियो । त्यसयता पटकपटक गरी ५ पटक म्याद थप गरेपछि २०८१ सालमा मात्रै उक्त कम्पनीले भवनका संरचनाहरु तयार गरेको थियो ।
भवन संरचना बने पनि ठेक्काको सर्तबमोजिम खानेपानी जडान, घेरबार, उड फ्लोअरिङ (कोठाभित्र काठ छाप्ने काम), बत्ती जोड्ने लगायतका काम नगरेपछि निकुञ्ज कार्यालयले ठेक्का तोडेको थियो । बाँकी काम गर्नका लागि गत वर्ष मंसिरमा गजेन्द्र निर्माण सेवालाई खप्तड र नेत्रेश्वरी निर्माण सेवालाई बिचपानीको भवनको ठेक्का दिइएको थियो ।

‘बिचपानीको काम लगभग सकिएको छ । खप्तडको भवनमा पनि घेरबारको काम सकेर उड फ्लोअरिङ भैरहेको छ,’ खप्तड राष्ट्रिय निकुञ्जका रेञ्जर परसुराम कठायतले भने, ‘सकेसम्म छिटो काम सम्पन्न गरेर भवनहरु प्रयोगमा ल्याउने गरी निकुञ्जले ताकेता गरिरहेको छ ।’
भवन निर्माणको काम पूर्ण रुपमा सम्पन्न भए पनि व्यवस्थापन कसरी गर्ने भन्ने निक्र्यौल नभएका कारण प्रयोगमा आउन समय लाग्ने उनको भनाइ छ ।