बैतडी – जिल्ला सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकामा ‘उज्यालो दरशथचन्द’ कार्यक्रम सञ्चालन गरिएको छ । सदरमुकाममा रहेका मुख्य बजारहरू गोठलापानी, गढी र शाहीलेकमा बल्ब जडान गरेर कार्यक्रमको शुभारम्भ गरिएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको प्राविधिक र नगरपालिकाको आर्थिक सहयोगमा सदरमुकामका बजारहरूमा ७२ वटा बल्ब जडान गरिएको छ ।

नगर प्रमुख पुष्करराज जोशी लख्खाभाइले विद्युत् प्राधिकरणमा राखिएको ‘स्वीच अन’ गरी कार्यक्रमको शुभारम्भ गरे । दशरथचन्द नगरपालिकाको नीति कार्यक्रमअनुसार यो कार्यक्रम सुरु गरिएको जनाएको छ । नगरक्षेत्रका सार्वजनिक स्थान र मन्दिरमा बत्ती बाल्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।


‘उज्यालो दशरथचन्द’ कार्यक्रमका लागि गत आर्थिक वर्ष २०८१÷८२ मा नौ लाख ९९ हजार ७३५ बजेट राखिएको थियो । यो कार्यक्रमका लागि चालु आवमा १० लाख बजेट विनियोजन गरिएको छ । चालु आवमा नगरपालिका देहीमाण्डौँ, मुस्याचौर, झुलाघाट लगायतका बजार र सार्वजनिक स्थानमा बत्ती बाल्ने योजना रहेको नगर प्रमुख जोशीले बताए ।