बैतडी– नेपाली कांग्रेस बैतडीले साढे ४ हजार बढीको क्रियाशील सदस्यता नविकरण गरेको छ । कांग्रेसको जिल्ला समितिले जिल्लाभर ४ हजार ६०७ जनाको क्रियाशील सदस्यता नविकरण गरेको हो ।

पार्टीको १५औ महाधिवेशनका लागि क्रियाशील सदस्यता नविकरण गरिएको क्रियाशील सदस्यता अद्यावधिक समितिका संयोजक रमेश बोहराले बताए । उनले तोकेको समयमा सदस्यता शुल्क बुझाएका सदस्यहरुको क्रियाशील सदस्यता नवीकरण गरिएको बताए । पार्टीको विधान अनुसार शुल्क बुझाएकाहरुको नामावली पार्टीको केन्द्रीय कार्यालयलाई पठाइएको उनले बताए ।

कांग्रेसको केन्द्रीय कार्यालयले वैशाख मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरी केन्द्रमा नामावली पठाउन गरेको निर्देशन अनुसार सदस्यहरुको विवरण पठाइएको बताईएको छ । केन्द्रीय कार्यालयको परिपत्र बमोजिम तोकिएको शुल्क जिल्ला कार्य समितिमा जम्मा नगर्ने जनप्रतिनिधि, राजनीतिक नियुक्ति प्राप्त व्यक्ति र पार्टी पदाधिकारीहरुको सदस्यता नवीकरण नगरिएको बोहराको भनाई छ ।
यसअघि बैतडीमा साढे ६ हजार क्रियाशील सदस्य रहेका भएपनि धेरैले नवीकरण नगरेको बोहराले बताए । तोकिएको शुल्क तिरेर यही जेठ १५ गतेभित्र अझै सदस्यता नवीकरण गर्न सकिने नेपाली कांग्रेस बैतडीले जनाएको छ ।














