अत्तरिया – कैलालीको अत्तरिया मार्सी सागमा अत्यधिक विषादी भेटिएको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई अत्तरियामा गरिएको परीक्षणमा मार्सी सागमा अत्यधिक हानिकारक कार्बोमेट विषादी भेटिएको हो ।

कञ्चनपुरमा उत्पादी उक्त मार्सी साग अत्तरियाको श्याम तरकारी तथा फलफूल पसलमा बिक्रीका लागि ल्याइएको थियो । उक्त साग प्रयोगशालामा परीक्षण गर्दा ७६.६१ रोकावट प्रतिशत कार्बोमेट फेला परेको प्रयोगशालाका प्राविधिक राजेन्द्र प्रसाद भट्टले बताए ।

उक्त विषादीको रोकावट प्रतिशत ३५ भन्दा कम भएमा खान योग्य, ३५ देखि ४५ भएमा केही दिन पर्खेर खान सकिने र ४५ भन्दा माथि भएका खान अयोग्य हुने भएकाले विसर्जन गर्ने गरिन्छ ।

शुक्रवार गरिएको परीक्षणमा अत्यधिक विषादी भेटिएको मार्सी साग विसर्जन गरिएको प्राविधिक भट्टले बताए । अत्तरियामा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा दैनिक ५ देखि १० वटा तरकारीका नमुना परीक्षण हुँदै आएका छन् ।