अत्तरिया– सरकारले फेब्रुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाएकाे छ। जसअन्तर्गत सरकारले देशभरका सम्पूर्ण पालिकाहरूलाई आयोडिन महिना मनाउन भनेको थियाे । सुदूरपश्चिमका पालिकाहरूले पनि प्रत्येक वर्ष फेब्रुअरीलाई आयोडिन महिनाका रूपमा मनाउँदै आएको साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडका प्रमुख तेज बहादुर कुँवर बताउँछन् ।


उनले सरकारले सन २०२० देखि आयोडिन महिना मनाउँदै आएको र प्रत्येक वर्ष विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्ने गरिएको बताए । ‘आयोडिनको कमीका कारण हुने स्वास्थ्य समस्याहरूको समाधानका लागि सरकारले सन् २०२० देखी फेब्रुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाउँदै आएको छ’ उनले भने ‘सो अन्तरगत रहेर विभिन्न पालिकाहरू सहित साल्ट ट्रेडिङ्गले पनि जनचेतनामूलक कार्यहरू गरेकाे छ ।’

उनले आयोडिन मानिसको स्वास्थ्यको लागि नभई नहुने पोषक तत्त्व भएको बताए । आयोडिन त्यत्तिकै खान र खरिद गर्न समेत नपाइने उनले बताए । सरकारले सबैलाई सहज रूपमा आयोडिन पुगोस् भन्नका लागि नै नुनमा आयोडिन मिलाएर बिक्रिवितरण गरिरहेको उनको भनाई छ । ‘आयोडिन एउटा सूक्ष्म तत्त्व हो, जुन आँखाले देख्न सकिँदैन’ उनले भने ‘त्यो नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तरगत युनिसेफबाट मात्रै पाइन्छ ।’ उनले यकिन तथ्याङ्क नभए पनि पछिल्लो समय आयोडिनको प्रयोग सबै क्षेत्रका मानिसहरूले गरिरहेको बताए ।

उनले आयोडिनको अभावका कारण हुने समस्याहरू पनि पछिल्लो समय आउन छाडेको बताए । उनले सरकारले अभियान सञ्चालन गरेकाले पछिल्लो समय भारतबाट आयात हुने ढिक्का नुनमा पनि कमी आएको बताए । ‘भारतबाट आउने नुनमा आयोडिन हुँदैन, त्यसैले सो नुन हामीले आयात गर्न दिएका छैनौ’ उनले भने ‘पछिल्लो केही समय यता भारतबाट आउने नुनमा पनि धेरै कमी आएको छ ।’ उनले नेपालमा ढिका नुनमा पनि आयोडिन हुने गरेको भए पनि खुल्ला रूपमा राखिने हुँदा शरिरलाई आवश्यक मात्रा नपुग्ने भएकाले पोकामा राखिएको दुई बालबालिका अंकित आयोडिन नुनको प्रयोग गर्नुपर्ने बताए ।
कैलालीको गोदावरी नगरपालिकाले पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी बताउँछन् । अवस्थीका अनुसार नगरपालिकाले विभिन्न स्वास्थ्य संस्थाहरूमा ब्यानर झुन्ड्याउने, नगरपालिका कार्यालयमा पनि सूचनामूलक सामग्री राख्ने तथा जनचेतनामूलक कार्यक्रमहरू गर्ने लगायतका कार्यहरू गरिरहेको छ । उनले आयोडिनको अभावका कारण विभिन्न स्वास्थ्य समस्याहरू देखिने बताए ।
‘गर्भावस्थामा आयोडिनको कमीले गर्भ तुहिने, शारीरिक अपाङ्गता भएका वा सुस्त मनस्थितिको बच्चा जन्मिने, बच्चाको दिमागको विकास नहुने, गलगाँड लगायतका समस्याहरू आउने गर्दछन्’ उनले भने ‘त्यसैले आयोडिनको प्रयोग अनिवार्य छ ।’ उनले सरकारले दुई बालबालिका अंकित चिन्ह भएको आयोडिन नुन विक्रिवितरण गरिरहेकाले सबैले सो नुन प्रयोग गर्नुपर्ने बताए । उनले उक्त नुनको प्रयोगले मानिसको शरीरमा आवश्यक पर्ने आयोडिनको मात्रा प्रदान गर्ने बताए ।
आयोडिन मानिसको लागि दैनिक रूपमा नभई नहुने तत्त्वमध्ये पर्छ । समुद्रबाट प्राप्त हुने प्राकृतिक खाद्य पदार्थ सेलफिस, फिस, कर्डफिस आदि तथा समुद्रमा पाइने वनस्पति तथा तरकारीजन्य हरियो खाद्य पदार्थमा सबैभन्दा बढी आयोडिन पाइन्छ । तर नेपालमा समुद्र नभएकाले सरकारले नुनका माध्यमबाट नागरिकलाई आयोडिन प्रदान गर्दै आइरहेको हो ।
















