अत्तरिया – अत्तरिया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष एवं वरिष्ठ समाजसेवी टिकादत्त जोशीको शुक्रवार गोदावरी आर्यघाटमा अन्त्येष्टि गरिएको छ । २०१३ साल मंसिर १३ गते डोटीको शिखर नगरपालिका–४ मुढमरामा जन्मेका जोशीको ६८ वर्षको उमेरमा बिहीबार राति सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

हाल कैलालीको गोदावरी नगरपालिका–४ मा बसोबास गर्दै आएका जोशी सामाजिक तथा नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय थिए । उनी खानेपानी संस्थाका अध्यक्ष सँगै सामुदायिक सिकाइ केन्द्र अत्तरियाका निवर्तमान अध्यक्ष, नेपाल किसान संघ कैलालीका पूर्व अध्यक्ष तथा दर्जनभन्दा बढी संघसंस्थामा आबद्ध थिए ।

जोशीको निधनले अत्तरिया क्षेत्रले एक अनुभवी समाजसेवी गुमाएको भन्दै स्थानीयवासी, राजनीतिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले गहिरो शोक व्यक्त गरेका छन् । उनको अन्त्येष्टिका क्रममा गोदावरी आर्यघाटमा नेपाली कांग्रेसले पार्टीको झण्डा ओढाएको थिए ।
अन्त्येष्टिमा परिवारका सदस्य, आफन्त, शुभेच्छुक,समाजसेवी तथा विभिन्न राजनीतिक दलका नेता, जन प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

















