अत्तरिया– कैलालीको अत्तरियामा शिवजयन्तीको अवसरमा स्नेह मिलन कार्यक्रमको आयोजना गरिएको छ । अत्तरियामा रहेको ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयले शिवजयन्तीको अवसर पारी शिवध्वजारोहण एवम् स्नेह मिलन कार्यक्रमको आयोजना गरेको हो ।
विद्यालयकी सञ्चालीत ब्रम्हकुमारी रबिनाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले पछिल्लो समय बालबालिकाहरु धार्मिक संस्कृति भन्दा बाहिर गईरहेको अवस्था रहेको बताए । उनले यस्ता कार्यक्रमहरुले बालबालिकाहरुलाई धार्मिक तथा सांस्कृतिक रुपमा जिम्मेवार बनाउन मद्दत मिल्ने बताए ।



उनले बालबालिकाहरुलाई धार्मिक संस्कृतिको पाठ सिकाउन जरुरी रहेको र त्यसका लागि विश्वविद्यालयले दैनिक रुपमा सकारात्मक कार्यहरु गर्दै आईरहेको बताए । उनले धार्मिक संस्कृतिहरु सिकाउने विश्वविद्यालयलाई सहयोग गर्नु सबै सरोकारवालाहरुको नैतिक दायित्व भएको समेत बताए ।
कार्यक्रममा भजनकृतन, नाचगान तथा धार्मिक प्रवचन लगायतका क्रियाकलापहरु गरिएका थिए । विश्वविद्यालयकी सञ्चालीका ब्रम्हकुमारी रबिनाले विश्वविद्यालयले प्रत्येक वर्ष भगवान शिवको पुजाआजा गरी पर्व मनाउने गरेको बताईन ।
उनले शिव जन्मेको पावन अवसरमा मिठो मसिनो खाई, स्वच्छ मनका साथ सबैले एक आपसमा माया साटासाट गर्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताईन । मनका भएका नकारात्मक सोचहरुलाई त्यागी सबैले आफुलाई एक असल व्यक्तिका रुपमा उभ्याउनुपर्ने उनको भनाई थियो ।

शिवरात्रीमा युवाहरु गाँजा, भाङ, धतुरो खाने लगायतका नराम्रा गतिविधी गर्ने गरेको बताउदै उनले त्यसको अन्त्य गर्न जरुरी रहेको समेत बताईन । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुका साथै धार्मिक आस्था राख्ने स्थानियहरुको सहभागीता रहेको थियो । कार्यक्रममा शिवजयन्तीको अवसरमा केक काटिएको थियो भने शिवध्वजारोहण पनि गरिएको थियो ।
















