बैतडी– बैतडीको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (हाकिम) अम्मरराज जोशीको सरुवा भएको छ । नगरपालिकामा आएको ५ महिनामै जोशीको सरुवा भएको हो ।

जोशी गत असोज १० गते नगरपालिकामा हाजिर भएका थिए । कार्यालयमा हाजिर भएको करिब ५ महिना हुनै लाग्दा जोशीको सरुवा भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जोशीलाई बाजुराको बुढीगंगा नगरपालिकामा सरुवा गरेको छ ।

मन्त्रालयले फागुन १ गते ५० जना उपसचिवको सरुवा भएको सूचि निकालेको थियो । जसमा जोशीको नाम समेत समावेश गरिएको थियो । जोशीको सरुवा भएपनि उनको ठाउँमा भने मन्त्रालयले पाटनमा कसैलाई खटाएको छैन ।
नगरपालिकाका योजनाहरु कार्यान्वयनको चरणमा गइरहेका बेला प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि कामकाजमा समस्या हुने देखिएको छ । मन्त्रालयले स्थानीयस्तरको समस्या नबुझिकनै सरुवा गर्ने प्रवृतिले समस्या देखिएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए । बेला–बेलामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुँदा नगरका कामकाजहरु लथालिङ्ग हुने गरेको रावलले बताए । पाटनमा प्रमुख प्रशासकीय अधिकृत नखटाइ गरिएको सरुवाले नगरपालिकाका कामकाज प्रभावित हुने उनको भनाई छ ।