अत्तरिया– स्थानिय तह संस्थागत क्षमता मुल्यांकन (लिजा) मा कैलालीका सबै गाउँपालिकाहरुमा चुरे गाउँपालिका पहिलो नम्बरमा आएको छ । जिल्लामा रहेका ६ वटा गाउँपालिकाहरुमध्ये चुरे पहिलो नम्बरमा आउन सफल भएको हो ।
तर जिल्लाका सबै स्थानिय तहहरुमा भने चुरे दोस्रो नम्बरमा आएको छ । १३ वटा स्थानिय तह रहेको कैलालीमा ९५.२५ अंक सहित घोडाघोडी नगरपालिका पहिलो आउँदा ९१.२५ अंक सहित चुरे गाउँपालिका दोस्रो बनेको हो ।

लिजामा शासकिय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पुर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय लगायतका आधारमा मुल्यांकन गरिएको थियो ।
जसअनुसार चुरे गाउँपालिकाले शासकिय प्रबन्धमा ९ मा ९ अंक प्राप्त गरेको छ भने संगठन तथा प्रशासनमा ८ मा ७.५ अंक प्राप्त गरेको छ । यस्तै वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११ मा १०.५, वित्तिय एवम् आर्थिक व्यवस्थापनमा ११ मा ९.७५, सेवा प्रवाहमा १६ मा १४, न्यायिक कार्य सम्पादनमा ७ मा ६, भौतिक पुर्वाधारमा १३ मा १२.५ र सामाजिक समावेशीकरणमा १० मा ८.५ अंक चुरेले प्राप्त गरेको छ । त्यसैगरी चुरे गाउँपालिकाले वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ९ मा ८.५ तथा सहकार्य र समन्वयमा ६ मा ५ अंक प्राप्त गरेको छ ।
लिजा के हो ?


स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि २०७७ (लिजा) स्थानीय तहको सक्षमता र कमजोरी पहिचान गरी सुधार गर्ने सैद्धान्तिक पृष्ठभूमिमा तर्जुमा गरिएको स्वमूल्यांकन मार्गनिर्देशिका हो । यसलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० को कार्यान्वयनको आधारमा तर्जुमा गरिएको छ ।
लिजाले स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिगत लेखाजोखा गरी सबल र दुर्वल पक्ष पहिचान गर्ने, विकास र सुशासनमा रहेका कमजोरीको जानकारी लिने, कार्यसम्पादनको आवधिक समीक्षाको आधार प्राप्त गर्ने, गाउँपालिका र नगरपालिकाबिच तुलनायोग्य सूचकका आधारमा प्रतिस्पर्धात्मक सुधार गरी स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउने उद्देश्य लिएकोे छ ।

कमजोर स्थानीय तहलाई क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न र सक्षमका लागि नवीन सिर्जनात्मक कार्य गर्ने प्रेरणा दिनु पनि लिजाको उद्देश्य रहेको छ । लिजा संविधान र ऐनमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न केन्द्रित छ । स्थानीय तहको समग्र परफरेन्स एकै ठाउँमा देखाउने बोर्डका रुपमा लिजालाई लिने गरिएको छ ।
यसका फाईदाहरु के के छन ?
लिजाको मुख्य उद्देश्य स्थानिय तहको संस्था र संरचनाहरूको क्षमता अभिवृद्धि गर्नु हो । यो प्रकृयाले स्थानिय तहका विभिन्न कार्यहरूको मूल्यांकन गर्ने गर्दछ । जसले योजनाहरूको प्रभावकारिता र क्षमता सुनिश्चित गर्न मद्दत पु-याउँछ ।
यसले स्थानिय तहलाई प्राथमिकता, आवश्यकताहरू र स्रोतहरूको पहिचान गर्न पनि मद्दत मिल्ने गर्दछ । त्यसैगरी यो मुल्यांकनले स्थानिय तहहरुमा संस्थागत संरचनामा सुधारको आवश्यकता भएको क्षेत्रहरू पहिचान गर्न सहयोग पु¥याउनुका साथै क्षमता निर्माणको योजनाहरू र तालिम कार्यक्रमहरूको समन्वय गर्न पनि सघाउ पु-याउँछ ।
स्थानिय तहहरूको कार्यसम्पादन र स्रोतको सही र न्यायपूर्ण वितरण सुनिश्चित गर्न, स्थानिय तहलाई सरकार र अन्य दाताहरूबाट अनुदान र स्रोतहरूको प्राप्तिमा सहयोग पु¥याउ, स्थानिय सरकारलाई सशक्त बनाउन तथा विकास कार्यलाई अघि बढाई नागरिकको जीवनस्तर सुधार्नमा समेत महत्वुर्ण योगदान पु-याउने गर्दछ ।