खाेज्नुहाेस

तरकारी खेतीतर्फ आकर्षित हुँदै ओलानीका किसान

Image

अत्तरिया – कैलालीको ओलानीका किसान तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । धान, गहुँको भन्दा तरकारी खेतीमा राम्रो उत्पादन हुने भएकाले किसानहरू तरकारी खेती तर्फ आकर्षित हुन थालेका हुन । स्थानीय हिरा देवी पार्कीले धान, गहुँ भन्दा राम्रो फाइदा हुने भएकाले तरकारी खेतीमा लागेको बताइन । उनले यस वर्ष देखि खुर्सानी खेतीका लागि बेर्ना तयार गरिएको बताउँदै ३ कट्ठा जग्गामा खेती गर्ने योजना रहेको सुनाइन । खुर्सानी खेतीबाट धान, गहुँ भन्दा राम्रो आयआर्जन हुने अपेक्षा लिएको उनले बताइन् ।

गोदावरी नगरपालिका – ११ ओलानीकी राधा देवी कामीले गोदावरी कृषि सहकारीले सहयोग गरेपछि तरकारी खेतीमा लागेको बताइन । उनले यस वर्ष सहकारी मार्फत तरकारी खेतीका लागि मल, बीउ लगायतका कृषि उपकरण पाएपछि तरकारी खेती गर्ने योजना बनाएको बताइन् । उनले पहिलो पटक ३ कट्ठामा तरकारी खेती गर्नको लागि बेर्ना तयार भइरहेको बताइन् ।

attariya hospital
navjiwan hospital

ओलानीमा बलौटे माटो भएकाले धान, गहुँ भन्दा तरकारी खेती राम्रो हुने भएकाले किसानहरूलाई तरकारी खेतीका लागि प्रोत्साहन गरिरहेको गोदावरी कृषि सहकारीका अध्यक्ष कृष्ण विकले बताए । उनले भौगोलिक रूपमा तरकारी खेतीका लागि ओलानी क्षेत्र राम्रो भएको बताए । तरकारी खेती अन्तरगत खुर्सानी खेती गर्न हाल ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) डडेल्धुरा कार्यालय सँगको साझेदारीमा सहकारीका सदस्यहरूका लागि कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

उनले सहकारीका १५ जना सदस्यहरूको समुह बनाएर ४५ कट्ठामा खुर्सानी खेतीका लागि तालिम दिएर बेर्ना वितरण गरिएको बताए । उनले खुर्सानी खेतीका लागि परियोजनाको ५० प्रतिशत अनुदानमा २ किसानलाई मिनिटिलर, १ किसानलाई पावर टिलर, ३० वटा क्रेट, ६ वटा स्प्रे, १५ फरुवा, १५ कोदालो र १ हजार १२५ केजी जैविक मल वितरण गरिएको बताए । उनले हाल ओलानी क्षेत्रमा ४५ कट्ठामा खुर्सानी खेती गर्नको लागि नर्सरी तयार गरिएको बताउँदै त्यसका लागि पनि अनुदानमा ९ सय ग्राम बीउ वितरण गरिसकिएको बताए ।

‘यो ओलानी क्षेत्रका लागि नौलो कार्यक्रम रहेको छ’ उनले भने ‘ओलानी क्षेत्र हावापानी र माटोको हिसाबले उपयुक्त हुँदाहुँदै पनि पनि हामी धान गहुँ मात्रै खेती गर्दा लागत पनि नउठ्ने अवस्था भएकाले हामीले त्यसलाई चिर्दै गोदावरी कृषि सहकारीले तरकारी खेतीमा लाग्ने प्रयत्न गरिरहेको छ । जस अन्तरगत खुर्सानी खेती गरिरहेका छौ ।’

रिडका कृषि प्राविधिक सन्तोष सेटीले चार चरणमा खुर्सानी खेतीको कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले ओलानी क्षेत्रमा धान, गहुँको भन्दा तरकारी खेतीका लागि राम्रो सम्भावना भएकाले खुर्सानी खेतीका लागि छनोट गरिएको बताए । आयोजना अन्तरगत कम्पोस्ट खाडल निर्माण, कृषि सामग्री वितरण, प्राविधिक सहयोगका कार्यक्रम सञ्चालन गरिएका छन् । २०८२ जेठ ७ गते सम्म सञ्चालन हुने उक्त परियोजनाको कुल लागत ८ लाख ८ हजार ८ सय रहेको छ । जसमा रिडको अनुदान ५० प्रतिशत अर्थात् ४ लाख ४ हजार ४ सय रहेको छ ।