नक्कली टिकट ठेलीको बाछिटा : अब उच्च अदालतको अङ्कुश

अत्तरिया – अत्तरिया उद्योग वाणिज्य संघमा नक्कली टिकट ठेलीले निम्त्याएको विवादको असर अझै कायमै छ । गत वर्ष सञ्चालित महोत्सवमा भेटिएको नक्कली टिकट ठेलीको विवाद जिल्ला अदालत कैलालीमा पुगेर पनि मिलापत्रमा टुङ्गिएको थियो । तर, विवाद मिलापत्रमा टुङ्गिएपछि समस्या समाधान हुनुको साटो झन्–झन् बल्झिँदै गएको छ । मिलापत्र पछि झन् दुई धारमा विभाजित भएको तत्कालीन समिति अहिले उच्च अदालत दिपायलमा पुगेका छन् । जिल्लामा मिलेका दुवै पक्ष उच्च अदालतमा पुगेपछि पुनः समितिका काम कारबाही ठप्प भएका छन् ।

maya metro hospital

विगत एक वर्ष देखि निष्क्रिय रहेको अत्तरिया उद्योग वाणिज्य संघमा नयाँ सदस्य मनोनीत गरेर अध्यक्ष कल्याण सिंह बोहराले चलायमान बनाउन खोजेपछि उच्च अदालत दिपायलको आइतबारको इजलासले निवेदनको टुङ्गो नलाग्दासम्म नयाँ मनोनीत सदस्यहरूलाई राखेर कुनै पनि निर्णय नगर्न आदेश दिएको छ । यसअघि माघ ११ गते उच्च अदालत दिपायलका न्यायाधीश डण्डपाणि शर्माको एकल इजलासले मनोनीत गरिएका ६ जना सदस्यको उपस्थितिमा बैठक बस्ने र निर्णय गर्ने समेतका कार्य माघ २० गतेसम्मका लागि नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

citizen security services

तर, आइतबार अदालतका मुख्य न्यायाधीश सान्तीसिंह थापा र न्यायाधीश अस्मिनकुमार राईको संयुक्त इजलासले संघमा नयाँ मनोनीत गरिएका सदस्यहरूको हकमा रिट निवेदनको टुङ्गो नलागेसम्मका लागि यसअघिको इजलासले दिएको अन्तरिम आदेशलाई नै निरन्तरता दिएको हो । नक्कली टिकट ठेली प्रकरणकै विवादमा संघका केही पदाधिकारी सहित ११ जनाले राजीनामा दिएपछि अध्यक्ष बोहराले यही पुस २८ गते सदस्य पदमा ६ जनालाई मनोनीत गरेका थिए ।

attariya hospital

उनले संघको विधान २०७१ को परिच्छेद ४ को दफा १४ को बुँदा नं. ५ बमोजिम रिक्त रहेका सदस्यको पद मनोनीत गरेको बताएका थिए । तर मनोनीतको विषयमा उच्च अदालतमा रिट निवेदन परेको थियो । उक्त रिट निवेदनमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता दीपकराज जोशीले बहस गरेका थिए भने विपक्षीका तर्फबाट वरिष्ठ अधिवक्ता प्रयागदत्त भट्ट र अधिवक्ता विश्वराज शर्माले बहस गरेका थिए ।

नक्कली टिकट ठेली प्रकरणको मिलापत्र पछि राजीनामा दिएका ११ जनाले तदर्थ समिति बनाएर निर्वाचनमा जानुपर्ने माग गर्दै आएका थिए । तर, अध्यक्ष बोहराले समितिका ४ जनाको बैठकबाट निर्णय गरेर ६ सदस्य थप गरेर आफ्नो कार्यकाल लम्ब्याउन खोजेका थिए । बोहराको उक्त कार्यबाट चिढिएको पक्ष पुनः अदालत पुगेको हो । जसले गर्दा अब नक्कली टिकट ठेली पछिको विवाद सुल्झिनुको साटो झन् बढेको छ । विवादकै कारण हरेक वर्ष अत्तरियामा आयोजना हुँदै आएको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ पनि यस वर्ष हुन सकेको छैन भने अत्तरिया उद्योग वाणिज्य संघ प्रति झन्–झन् वितृष्ण बढ्दै जान थालेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.