अत्तरिया उद्योग वाणिज्य संघ विवाद : निवेदनको टुंगो नलाग्दा सम्म नयाँ मनोनित सदस्यलाई राखेर कुनै निर्णय गर्न नपाइने
अत्तरिया– अत्तरिया उद्योग वाणिज्य संघमा नयाँ मनोनित गरिएका ६ जना सदस्यलाई राखेर कुनै पनि निर्णय गर्न नपाईने भएको छ । उच्च अदालत दिपायलको आईतबारको इजलासले निवेदनको टुंगो नलाग्दासम्म नयाँ मनोनित सदस्यहरुलाई राखेर कुनै पनि निर्णय नगर्न आदेश दिएको हो ।

यसअघि माघ ११ गते उच्च अदालत दिपालयका न्यायाधीस डण्डपाणि शर्माको एकल इजलासले मनोनित गरिएका ६ जना सदस्यको उपस्थितिमा बैठक बस्ने र निर्णय गर्ने समेतका कार्य माघ २० गतेसम्मका लागि नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

तर आईतबार अदालतका मुख्य न्यायाधिस शान्तिसिँह थापा र न्यायाधिस अस्मिनकुमार राईको संयुक्त इजलासले संघमा नयाँ मनोनित गरिएका सदस्यहरुको हकमा रिट निवेदनको टुंगो नलागेसम्मका लागि यसअघिको इजलासले दिएको अन्तरिम आदेशलाई नै निरन्तरता दिएको हो ।

संघका केही पदाधिकारी सहित ११ जनाले राजीनामा दिएपछि अध्यक्ष कल्याण सिँ बोहराले यही पुस २८ गते सदस्य पदमा ६ जनालाई मनोनित गरेका थिए । उनले संघको विधान २०७१ को परिच्छेद ४ को दफा १४ को बुँदा नं. ५ बमोजिम रिक्त रहेका सदस्यको पद मनोनित गरेको बताएका थिए । तर मनोनितको विषयमा उच्च अदालतमा रिट निवेदन परेको थियो ।
उक्त रिट निवेदनमा निवेदका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता दिपकराज जोशीले बहस गरेका थिए भने विपक्षीका तर्फबाट वरिष्ठ अधिवक्ता प्रयागदत्त भट्ट र अधिवक्ता विश्वराज शर्माले बहस गरेका थिए ।