अत्तरिया – हेमा श्री फाउन्डेसन नेपालको आयोजनामा र अस्थायी ट्राफिक प्रहरी पोस्ट चौमाला, कैलालीको समन्वयमा गौरीगंगा नगरपालिका –२ मा रहेको मालिका माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि सडक सुरक्षा तथा ट्राफिक सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
सडक दुर्घटनाका घटनामा वृद्धि हुन थालेपछि विद्यालय स्तरबाटै ट्राफिक सचेतना दिएर दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विद्यार्थीहरूसँग ट्राफिक प्रहरीको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले जानकारी दिए ।


कार्यक्रममा गौरीगंगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले विद्यालयका विद्यार्थीले व्यस्त सडक र राजमार्ग पार गर्नुपर्ने अवस्थालाई ध्यानमा राखेर गरिएको यस कार्यक्रमले उनीहरूलाई दुर्घटनाबाट बच्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।
सचेतना कार्यक्रममा विद्यार्थीहरूलाई सवारी चलाउँदा आवश्यक कागजात साथमा राख्नुपर्ने, ट्राफिक नियमको पालना गर्नुपर्ने र सवारी चलाउँदा ध्यान दिनुपर्ने लगायतका चेतनामूलक विषयमा जानकारी दिइएको थियो। प्रशिक्षक तथा अस्थायी ट्राफिक प्रहरी पोस्ट चौमालाका प्रमुख मदन बहादुर ऐरले यो सचेतना कार्यक्रमले परिवार र समुदायमा पनि ट्राफिक नियमहरूको पालना गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन फाउन्डेसनका सदस्य नवीन चन्दले गरेका थिए भने विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्र कडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
