अत्तरिया – घर दैलोमै महाकाली कोरिडोर आउने खुसीले उत्साहित कमला कोलीका सपना मलिन हुन थालेका छन् । महाकाली कोरिडोर निर्माण गर्ने भन्दै केही वर्ष अघि सर्भे टोलीले नापी गरेको ठाउँमा हाल सडक खन्न सुरु गरिए पनि उनी उत्साहित हुन सकेकी छैनन् । ‘२ वर्ष अघि पल्लो डाँडामा पुगेको रोड अझै अगाडि बढेको छैन’ बैतडीको पञ्चेश्वर गाउँपालिका – ४ की कमलाले भनिन् ‘यही गतिमा सडक अगाडि बढ्ने हो भने कहिले पुरा होला । कहिले पिच भएर गाडी चल्ला ।’ उनले महाकाली कोरिडोरले आफ्नो बस्ती जोडे धेरै विकासका सम्भावना खुल्ने अपेक्षा लिएको भए पनि काम सुस्त हुँदा आसा मर्दै बताइन् ।

बसाइसराइले पहाडका बस्ती खाली भइरहेका भए पनि कल्पना जस्ता धेरै पहाडमा रोकिएकाहरूको सपना हो महाकाली कोरिडोर । तर, यसको सुस्त निर्माणको गतिले अहिले धेरै वाक्क दिक्क भइसकेका छन् । महाकाली कोरिडोर त्रिदेशीय नाका मात्रै नभएर सयौँ बस्ती जोड्ने मार्ग पनि हो । २०७३/७४ मा ब्रह्मदेवदेखि तिंकर भन्ज्याङसम्म जोड्न महाकाली कोरिडोर निर्माण गर्ने घोषणा गरिए पनि यसको निर्माण गति सुस्त छ । काम सुस्त हुनुको मुख्य कारण सरकारले बजेट नै नदिनु रहेको छ ।

निर्माण सुरु गर्दा गरिएको डीपीआर अनुसार यसको कुल लागत १३ अर्ब रुपैयाँ थियो । तर, सरकारले ८ वर्षको अवधिमा यसको निर्माणको लागि सवा ३ अर्ब मात्रै विनियोजन गरेको छ । सरकारले चालु आर्थिक वर्षमा यो कोरिडोर निर्माणका लागि ४० करोड रुपैयाँ मात्रै विनियोजन गरेको महाकाली कोरिडोर सडक आयोजनाका निमित्त प्रमुख दीपक सुनारले बताए । जसमध्ये २० करोड गत आर्थिक वर्षकै भुक्तानी गर्न बाँकी रहेको उनको भनाइ छ । यद्यपि आयोजना कार्यालयले हाल २ अर्बको ठेक्का लगाइसकेको जनाएको छ । बजेट नै नहुँदा ठेक्का लगाएको काम पनि रोकिएको छ ।

सरकारले बजेट विनियोजन गर्न कन्जुस्याइँ गर्दा हाल सम्म कोरिडोरको ट्याक खोल्ने काम समेत पुरा हुन सकेको छैन । आयोजनाका निमित्त प्रमुख सुनारले ४१३ किलोमिटर मध्ये २८३ किलोमिटर सडकको मात्रै ट्र्याक खोल्ने काम सकिएको बताए । ब्रह्मदेवदेखि तिंकर भन्ज्याङसम्म ४१३ किलोमिटर सडक मध्ये तुसारपानीदेखि तिंकरसम्मको ७९ किलोमिटर सडकको ट्र्याक खोल्ने जिम्मा भने नेपाली सेनालाई दिइएको छ । सेनाले हालसम्म १४ किलोमिटर सडकको मात्रै ट्र्याक खोल्न सकेको छ । यस्तै कोरिडोर अन्तर्गत ३५ वटा पुल निर्माण गर्नुपर्ने भए पनि हालसम्म एक पुल मात्रै निर्माण भएको छ ।
काममा ढिलाइ हुँदा हाल कोरिडोरको लागत समेत बढेको छ । सुरुमा गरिएको डीपीआर अनुसार १३ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिए पनि हाल लागत बढेर १८ अर्ब १६ करोड पुगेको आयोजनाका निमित्त प्रमुख सुनारले बताए । ठुलो सम्भावना बोकेको यो कोरिडोर निर्माण पछि त्रिदेशीय नाका विस्तार भएर यस क्षेत्रको व्यापार, पर्यटनमा ठुलो भूमिका पुग्ने विश्वास लिइएको भए पनि सुस्त गतिमा भइरहेको कामले कहिले सार्थकता पाउने भन्ने अन्योल छ । यो कोरिडोर निर्माण भएमा दार्चुला बैतडी र डडेल्धुराबाट तराई पुग्न छोटो मार्ग हुनुका सार्थ चीनबाट भारत सम्म सडक सञ्चालन जोडिने छ । कोरिडोर निर्माण भएमा मानसरोवर जाने बाटो पनि छोट्टिने भएकाले भारतीय पर्यटकको आवागमन पनि बढ्ने विश्वास लिइएको छ ।