धनगढी – कैलालीको धनगढीमा ढुबानको समस्या हटाउन नाला निर्माणको काम सुरु गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई, धनगढीले डुबानको समस्या समाधानका लागि ६ लेन सडकमा नाला निर्माणको काम सुरु गरेको हो ।
नाला निर्माण कामको बुधबार सुदूरपश्चिम प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार विकास मन्त्री एवं प्रदेस सांसद प्रकाश देउवाले शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा बोल्दै पूर्वमन्त्री देउवाले योजना सम्पन्न भएपछि यस क्षेत्रको डुवान समस्या समाधान हुने बताए ।
वर्षातको पानीलाई मोहना नदीमा फाल्न धनगढी उपमहानगरपालिका वडा नम्बर २ र ३ को एरियामा २ हजार ८१५ मिटर लामो नाला निर्माण गर्न २०८१ असार २० गते सम्झौता भएको थियो । जसअन्तरगत चौराहदेखि मोहना नदीसम्म दोहोरो २ मिटर गहिरो र २ मिटर चौडा नाला निर्माण गरिने छ ।
मोहनापुल–अत्तरिया ६ लेन सडकको पूर्वी क्षेत्रमा १,३६५ मिटर र पश्चिम क्षेत्रमा १,४५० मिटर लामो नाला निर्माण हुनेछ । पूर्व क्षेत्रमा ११ करोड २० लाख र पश्चिम क्षेत्रमा १२ करोडको लागत अनुमान गरिएकोमा एमबी र शुभलक्ष्मीआदर्श जेभी र सनराइजरचन्द्र विकासरमस्टा जेभीले क्रमशः ७ करोड ४४ लाख ७९ हजार ८९६ रुपैयाँ ८३ पैसा र ६ करोड ५ लाख १ हजार ८३२ रुपैयाँ ५२ पैसामा ठेक्का पाएका छन् ।
नाली निर्माण २०८३ वैशाख १६ गतेभित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ ।