खाेज्नुहाेस

अत्तरियामा बरामद गरिएको काठ लुकाएको भेटिएपछि…

Image

अत्तरिया – कैलालीको अत्तरियामा प्रहरीले बरामद गरेर वन कार्यालयलाई बुझाएको काठ लुकाएको भन्दै स्थानीयहरूले विरोध गरेका छन् । मंगलबार इलाका प्रहरी कार्यालय मालाखेतीले सामुदायिक वनबाट नियन्त्रणमा लिएको एक ट्याक्टर ट्रली काठ सब–डिभिजन वन कार्यालयकै अलग अलग ठाउँमा लुकाएर राखिएको भन्दै स्थानीयहरूले बिहीबार वन कार्यालय घेराउ गरेका छन् ।

वन कार्यालयलाई बुझाइएको काठ सामुदायिक वनको जानकारी बिनै कारबाही नै नगरी छोडिएको थियो । त्यसपश्चात् कारबाही नहुनुको कारण बारे बुझ्न आएका आफूहरूले ट्याक्टरमा ल्याइएको पुरै काठ नभेटेपछि खोजतलास गर्दा लुकाइएको अवस्थामा भेटिएको जागृत महिला सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष नारु देवी खडायतले बताइन् ।

attariya hospital
navjiwan hospital

उनले एकातिर कारबाही नै नगरी ट्याक्टर छोडिएको र अर्कातिर काठ लुकाइएको भेटिँदा मिलेमतोको आशंका रहेको बताइन् । उनले सामुदायिक बनबाट काटिएका खयर अलग अलग ठाउँमा लुकाइएको अवस्थामा भेटिएको बताइन् । ‘हाम्रो काठ जति लुकाएर दाउरा मात्रै राखिएको छ’ उनले भनिन् ‘यो देखाएर तपाईँका त दाउरा मात्रै छन् भनेर काठ छैन भनेर मिलाउन खोजेका रहेछन् ।’ उनले वन कार्यालयमा लुकाइएको काठ आफूहरूकै भएको र त्यसलाई पुरानो देखाउन माटो समेत दलिएको बताइन् ।

स्थानीयले मिलेमतोमा वनका हाकिमले काठ काट्नेलाई उन्मुक्ति दिएको र काठ लुकाएको आरोप लगाएका छन् । वनका हाकिमकै मिलेमतोमा काठ लुकाइएको भन्दै स्थानीयहरूले सब डिभिजन वन कार्यालयमा तालाबन्दी गर्न खोजिरहेको अवस्थामा प्रहरीले रोकेको थियो । यद्यपि प्रहरीसँगको कुराकानी पछि स्थानीयहरूले अब कानुनी रूपमा जाने भन्दै तत्कालका लागि तालाबन्दी गर्ने कार्य रोकेका छन् ।

कैलालीको गोदावरी नगरपालिका – १ को जागृत सामुदायिक वनबाट अवैध रूपमा काठ काटिएको सूचना स्थानीयले प्रहरीलाई दिएपछि एक ट्याक्टर ट्रली खयर र सिसमको काठ प्रहरीले बरामद गरेको थियो । स्थानीयको सूचना पछि प्रहरीले उक्त ट्याक्टर सहितको काठ र ३ जनालाई नियन्त्रणमा लिएको थियो । तर वन कार्यालयले भने उक्त काठ पञ्चवती सामुदायिक वनबाट अनुमति लिएर काटिएको पर्चा भेटिएपछि छोडिएको बताएको थियो ।

यता सब डिभिजन बन कार्यालय अत्तरियाका प्रमुख निरन्जन कडालले काठ लुकाइएको विषयमा आफूलाई जानकारी नै नभएको बताएका छन् । उनले आफू दुई दिन देखी कार्यालयमा जान नपाएको र कसले काठ लुकाएको भन्ने विषयमा आफू छानबिन गर्ने बताए । ‘फोटो, भिडियोहरू सबै छदैछन, त्यसमा काठ लुकाउनुपर्ने जरुरी छैन’ उनले भने ‘त्यो काठ लुकाएको विषयमा हामी छानबिन गर्छौ, कसले किन लुकाउन खोजेको हो, कसले ईस्यु बनाउन खोजेको हो ।’