खाेज्नुहाेस

गोदावरीमा प्रहरीले समातेको विवादित काठ वनले कारबाही नगरी छोडेपछि…

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ मा प्रहरीले बरामद गरेर सब डिभिजन वन कार्यालय अत्तरियालाई बुझाएको विवादित काठ कारबाही नगरी छोडिएको पाइएको छ । मंगलबार इलाका प्रहरी कार्यालय मालाखेतीले सामुदायिक वनबाट नियन्त्रणमा लिएको एक ट्याक्टर ट्रली काठ वन कार्यालयलाई बुझाएको भए पनि वनले बुधवार कारबाही नै नगरी छोडेको हो ।

मंगलबार जागृत सामुदायिक वनबाट अवैध रूपमा काठ काटिएको सूचना स्थानीयले प्रहरीलाई दिएपछि एक ट्याक्टर ट्रली खयर र सिसमको काठ प्रहरीले बरामद गरेको थियो ।

attariya hospital

जागृत सामुदायिक वनका उपभोक्ता विशाल भट्टले करिब ३०–४० जनाको समूहमा आएका व्यक्तिले वनमा काठ काटिरहेको देखेपछि प्रहरीलाई खबर गरेको बताए । उनले आफ्नो सामुदायिक वनका उपभोक्ता समेत नरहेका व्यक्तिले ट्याक्टर नै लिएर काठ काटिरहेको देखेपछि प्रहरीलाई खबर गरेको बताए ।

स्थानीयको सूचना पछि प्रहरीले उक्त ट्याक्टर सहितको काठ र ३ जनालाई नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले काठ ट्याक्टरमा लोड गरेर लग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएर वन कार्यालयलाई बुझाएको बताए ।

navjiwan hospital

उता वन कार्यालयले भने उक्त काठ पञ्चवती सामुदायिक वनबाट अनुमति लिएर काटिएको पर्चा भेटिएपछि छोडिएको जनाएको छ । वन कार्यालयका प्रमुख नीरन्जन कडालले पञ्चवती सामुदायिक वनका अध्यक्षले आफूहरूले बिहेको लागि दाउरा काट्ने अनुमति दिएको भनेपछि आवश्यक कारबाही वनबाटै गर्ने गरी छोडिएको बताए ।

यद्यपि वनले दाउराको लागि अनुमति दिएको भनेपनि ट्याक्टरमा लोड गरिएको काठ भने दाउराको मापदण्ड अनुसार छैनन् । वनबाट दाउराको लागि १८ इन्च गोलाइको मात्रै काठ काट्न पाइने भए पनि ट्याक्टरमा ४० इन्च सम्म गोलाइका काठ काटिदा पनि वनले कारबाही नगरी छोडेपछि स्थानीयले मिलेमतोको आशङ्का गरेका छन् । स्थानीयले मिलेमतोमा वनका हाकिमले काठ काट्नेलाई उन्मुक्ति दिएको आरोप लगाएका छन् । त्यसैमा जागृत सामुदायिक वनबाट काटिएको भन्दै नियन्त्रणमा लिएको काठ वनका हाकिमले पञ्चवती सामुदायिक वन सँग सम्झौता गरेर छोडेपछि स्थानीयले मिलेमतोको आशङ्का गरेका हुन ।

यस विषयमा डिभिजन वन कार्यालयका प्रमुख कडालले भने अझै पनि केही नबिग्रिएकाले कारबाही गर्न सकिने दाबी गरे । ‘कारबाही गर्ने पहिलो अधिकार वनको हुन्छ । पञ्चवती सामुदायिक वनका अध्यक्षले हामी आफै कारबाही गर्छौ भनेपछि छोडिएको हो’ उनले भने ‘अझै केही बिग्रिएको छैन । वनले कारबाही नगरे हामी कारबाही गर्छौ ।’

उनले ट्याक्टर र मानिस छोडिएको भए पनि काठ आफूहरूले नै जफत गरेर राखेको बताए । जागृत सामुदायिक वनबाट कोही पनि सम्पर्कमा नआएपछि ट्याक्टर र मानिस छोडिएको उनले बताए । उनले दुवै वन सँगै जोडिएको बताए । उनले स्थलगत अनुगमन गर्दा पञ्चवतीमा काठ काटिएको बताए पनि जागृति वनमा भने अनुगमन नै नगरेको बताए ।