अत्तरिया– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुुट नहुने बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राजनितिक स्थायित्वका लागि दुई ठुला दल मिलेर बनेको सरकारले असफल हुन नपाउने बताए ।
‘देशको राजनितिक अवस्था एकदमै नाजुक अवस्थामा छ, यसलाई सुधार्न हामी सबै लागिरहेका छौ,’ उनले भने, ‘नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बनेको छ, राजनितिक स्थायित्वका लागि यो सरकार बनेको हो, त्यसैले यसलाई असफल हुने छुट छैन ।’


वर्तमान सरकार असफल भए देशमा अराजकता निम्तिने उनले बताए । ‘देशमा अराजकता निम्तिने भएकाले जुनसुकै हालतमा पनि यो सरकार अगाडि बढ्नुपर्दछ, चल्नुपर्छ,’ उनले भने, ‘त्यतिमात्रै नभई जुन म्यान्डेड लिएर यो सरकार आएको छ, त्यो पुरा गर्नुपर्दछ ।’
सरकार बनेको करिब ५ महिनाको अवधिमा जनताले अपेक्षा गरेको जस्तो कार्य हुन नसकेको समेत उनले बताए । देशको राजनितिक, आर्थिक, सामाजिक एवम् सांस्कृतिक अवस्था समेत नाजुक रहेकाले त्यसलाई कांग्रेस र एमालेले मिलाएर अगाडि जानुपर्ने उनको भनाई थियो ।
संविधान संसोधनको मुल एजेण्डा बोकेर बनेको सरकारले हालसम्म पनि सो विषयमा कुनै पनि छलफल नगरेको उनले बताए । सो विषयमा सबैले सरकारलाई दवाव दिन जरुरी रहेको उनको भनाई छ ।













