बैतडी- बैतडीमा पहिरोले अवरुद्ध भएको दशरथचन्द राजमार्ग सुचारु भएको छ । सडक डिभिजन कार्यालय पाटन, बैतडीका प्रमुख लक्ष्मणदत्त जोशीका अनुसार सोमबार बिहान १० बजेदेखि राजमार्ग सञ्चालनमा आएको हो ।
आइतबार साँझ मोड सुधारको काम चलिरहेको पाटन नगरपालिका-४ जेउडेमा डोजरले खन्ने क्रममा माथिबाट सुख्खा पहिरो खसेको थियो । बैतडी-दार्चुला जोड्ने राजमार्गमा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको थियो ।
राति पहिरो पन्छ्याउन जोखिम भएपछि सोमबार बिहानैदेखि तीनओटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छ्याइएको र लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आइसकेका जोशीले बताए ।