बैतडी – बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा ‘देहीजात’ शुरु भएको छ । हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन देखि मेलौलीमा ‘देहीजात’ सुरु हुने गर्दछ । मेलौली नगरपालिका–१ स्थित मेलौली भगवती मन्दिरमा विभिन्न ठाउँबाट भण्डार ल्याउने चलन रही आएको छ भने बलि दिनका लागि आजै मन्दिर राँगा बाँध्ने चलन रही आएको छ ।
मेलौलीको सुनगडा र देहीगाउँ, वडा नं –६ पोखरी र वडा नं –७ काँडामा रहेका भगवती भण्डार घरबाट मन्दिरमा भण्डार ल्याउने चलन रही आएको मेलौली मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदीशसिंह नायकले बताए ।
यस्तै भगवतीमा चढाउनका लागि हरिबोधिनी एकादशीको दिनदेखि वडा नं ५ मा संकलन गरिएको पोखल समेत आजै मन्दिरमा पुर्याइएको छ । उक्त पोखल (चामल) सहित अन्य ठाउँबाट आएको पोखलले भगवतीको पूजाआराधना गर्ने चलन रही आएको नायकले बताए ।
मेलौली भगवतीको दर्शनका लागि नेपालका मात्रै सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आइपुगेका छन् ।