बैतडी- बैतडीका दुई पालिकामा सार्वजनिक बिदा दिइएको छ । जिल्लाको मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाले आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएका हुन् ।
मेलौली नगरपालिका–१ मा रहेको प्रसिद्ध मेलौली भगवती जात्राको अवसरमा आज र भोलि नगर क्षेत्रभर सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । यस्तै शिवनाथ गाउँपालिकाले वडा नम्बर ४ मा रहेको प्रसिद्ध देहीगडा भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा आज र भोलि दुई दिन स्थानीय सार्वजनिक बिदा दिएको जनाएको छ । देहीगडा भगवती मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ ।
यस्तै सुर्नया गाउँपालिकाले वडा नम्बर ५ स्थित प्रसिद्ध फाल्ङासैनी भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ । फाल्ङासैनी भगवती मन्दिरमा आज र भोलि दुई दिन जात्रा लाग्ने गर्दछ । जात्राको मुख्य दिन भोलि भएकाले भोलिलाई नै बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।