अत्तरिया – घरको एकातिरको भाग पुरै खुल्ला, बाँकी ३ तिर चाहिँ केही छोपिएको थियो । त्यो मध्ये पनि एकातिरको भागमा कपडाले छोपेर हावापानी रोक्न खोजेको जस्तो आभास हुने कैलालीको गोदावरी नगरपालिका – १ चैतन्यपुरकी कलु सार्कीको घर । छाना टायलको भए पनि घरको चारैतिरको भागले घरलाई एकदमै कमजोर रहेको दर्साएको छ । सो घरमा विगत दशकौँ देखि बस्दै आइरहेको छ कलु सार्कीको परिवार ।
घरको अभिभावकका रूपमा रहेका श्रीमानको गत असोजमा निधन भएपछि अहिले उनी ३ बालबालिका सहित घरमा बस्दै आएकी छिन । ज्याला मजदुरी गरेर भए पनि घरमा कमाउने श्रीमान् हुँदा कलुलाई त्यति समस्या भएको थिएन । तर जब श्रीमानको मृत्यु भयो, त्यसपछि भने उनलाई पारिवारिक बोझले सताउन थाल्यो । आफू मानसिक रूपमा सुस्त मनस्थिति भएकी कलुका दुइटा छोरी र एउटा छोरा छन् ।


छोराछोरीको लालन पालन तथा पढाईलेखाईको जिम्मेवारी काँधमा आएपछि मानसिक रूपमा कमजोर कलुलाई थप पीडा छ । आम्दानीको कुनै स्रोत छैन, कच्ची घर रहेको केही घुर जमिन बाहेक अन्त जमिनको नाममा एउटा टुक्रा पनि छैन । दैनिक छिमेकीहरूको काममा सहयोग गर्दै छोराछोरीलाई खानेकुराको उनले जोहो गरिरहेकी छन् ।
उनीजस्तै आर्थिक रूपमा एकदमै विपन्न सोही ठाउँका श्यामलाल चौधरीको पनि दैनिकी एकदमै नाजुक छ । खोला किनारमा अर्कोको जमिनमा बनाइएको सानो घरमा बस्दै आएका उनका श्रीमती र २ छोरीहरू गरी ४ जनाको परिवार छ । गत असोजतिर आएको हावाहुरीका कारण घरमा रुख ढल्दा उनको घर नै भत्कियो । जसोतसो घर ठड्याएका उनको उक्त घर पनि खोलाको भेलले लैजाने अवस्थामा पुगिसकेको थियो । सम्भवतः केही दिन अझै वर्षा भएको भए उनको त्यो घर पनि रहने थिएन । ज्याला मजदुरी गरेर परिवार पाल्ने श्यामलालको श्रीमती पनि सुस्त मनस्थितिकी छन् ।
स्थानीय सरकार आएको ७ वर्ष पुरा भैसकेको छ, तर दशकौँ देखि सोही ठाउँमा बस्दै आएका श्यामलाल र कलुको परिवारले भने स्थानीय सरकारको अनुभूति गर्न पाएका छैनन् । नजिकको सरकारका रूपमा रहेको स्थानीय सरकारले नगरमा एकदमै विपन्न अवस्थामा रहेका परिवारलाई सहयोग गर्न पाउने कार्यविधि हुँदाहुँदै पनि श्यामलाल र कलु जस्ता व्यक्तिहरूले सरकारबाट कुनै सहयोग पाएका छैनन् । विभिन्न निजी, सरकारी तथा गैह्र सरकारी संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरू गर्ने गर्दछन् ।


तर विपद्मा परेका र समस्यामा परेका श्यामलाल र कलु जस्ताका लागि भने कोही पनि सहारा बन्न सकेका छैनन् । ‘गरिब छौ, पढेलेखेका छैनौ, कतैबाट सहयोग पाइन्छ भन्ने सम्म थाहा छैन’ श्यामलालले भने ‘आजसम्म न कसैले सहयोग गरेको छ, न त कोही सहयोग गर्छौ भन्न आएको छ ।’ उनले आफूहरू जस्ताको सहारा कोही नहुने बताए ।
कांग्रेस गोदावरीको सहयोग
आर्थिक रूपले विपन्न अवस्थामा रहेका उक्त परिवारहरूलाई कुनै क्षेत्रबाट सहयोग नभएको अवस्थाका नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिले सहयोग गरेको छ । सोमबार नगरकार्यसमितिले कलु र श्यामलाल मात्रै नभई अर्की स्थानीय जानकी कामीको परिवारलाई पनि खाद्यान्न सहयोग गरेको हो ।
४२ औ बिपी स्मृति दिवसको अवसर पारी कार्यसमितिले तिन ओटै परिवारलाई चामल, दाल, तरकारी, नुन, तेल लगायतका खाद्यान्न सामग्री सहयोग गरेको हो । कार्यसमितिका सभापति वीर बहादुर चोखालले विपद्मा परेका व्यक्तिहरूलाई सहयोग गर्न कांग्रेस गोदावरी सदैव तयार रहेको बताए ।
उनले वडा नं. १ कै वडा सदस्य गम्भीर साउँदले जानकारी दिँदा र उनकै आग्रहमा आफूहरूले उक्त सामग्रीहरू सहयोग गरेको बताए । ‘वडामा एकदमै विपन्न परिवारलाई खाद्यान्न आवश्यक भएको कुरा वडा नम्बर १ का वडा सदस्य गम्भीर साउँदले जानकारी दिएपछि समितिले पैसा उठाएर खाद्यान्न सहयोग गरेका हौ’ उनले भने ‘आगामी दिनमा पनि कुनै ठाउँमा अप्रिय घटना घटे, नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिले थाहा पाएको २ घण्टा भित्र सहयोगका लागि तयार रहने प्रतिबद्धता व्यक्त गर्दछौ ।’ उनले आफूहरूले सहयोग गरेका व्यक्तिहरूको अवस्था हेर्दा एकदमै नाजुक रहेको र ती परिवारहरूलाई अन्य क्षेत्रबाट पनि सहयोग ल्याउन आफूहरूले पहल गर्ने बताए । उनले आगामी दिनमा ती परिवारहरूको घर बनाइदिने विषयमा पनि अग्रसरता देखाउने बताए ।
यसैबिच नगर कार्यसमितिका सभापति र सचिवले कलु सार्कीलाई नगद सहयोग पनि गरेका छन् । उनीहरूले खाद्यान्न सहयोगकै अवस्थामा कलु सार्कीको बालबालिकाहरूलाई अध्यापनमा समस्या भइरहेको थाहा पाएपछि सानो नगद सहयोग गरेका हुन ।
नेपाली कांग्रेसका नगर सभापति वीर बहादुर चोखाल र सचिव योगेश भट्टले व्यक्तिगत तर्फबाट उनीहरूलाई सहयोग गरेका थिए । सभापति चोखालले बालबालिकाहरूका शैक्षिक सामग्रीहरू गलेर नष्ट भएको थाहा पाएपछि आफूहरूले नगद सहयोग गरेको बताए । ‘खाद्यान्न सहयोग गर्ने क्रममा केही बालबालिकाका शैक्षिक सामग्री नै नभएका र भएका पनि पानीका कारण गलेर नष्ट भैसकेको थाहा भयो’ उनले भने ‘त्यसपछि बालबालिकाहरूको अध्यापनका लागि तत्काल सानो भए नि सहयोग गरौँ भनेर नगद सहयोग गरेका हौ ।’















