अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले गत वर्ष भदौ ६ गते नदीजन्य पदार्थको रोयल्टी संकलनका लागि टेन्डर आह्वान ग-यो । नगरभित्र रहेका खुटिया, खैराना र गोदावरी गरी ३ वटा नदीहरूबाट नदीजन्य पदार्थको रोयल्टी संकलनका लागि नगरपालिकाले पौने १४ करोडको हाराहारीमा न्यूनतम बोलपत्र रकम राखेर टेन्डर आह्वान गरेको थियो ।
जसमा खुटिया नदीमा ८ करोड ७६ लाख ७ हजार ७२८ रुपैयाँ, खैराना र गोदावरी नदीमा ४ करोड ९७ लाख ६ हजार १५६ रुपैयाँ गरी कुल १३ करोड ७३ लाख १३ हजार ८८४ रुपैयाँ न्यूनतम बोलपत्र रकम तोकिएको थियो । पहिलो पटक भदौ ६, दोस्रो पटक असोज ७ गते समान रकम राखेर टेन्डर आह्वान गरिएको थियो । दोस्रो पटक टेन्डर आह्वान गर्दा पनि ठेकेदार नआएपछि नगरपालिकाले आफैले नदीजन्य पदार्थको रोयल्टी संकलन गर्न सुरु गरेको थियो ।


ठेक्का लागेको भएमा कम्तिमा पौने १४ करोड संकलन हुने अपेक्षा राखिएकोमा सोही समयदेखि नगरपालिकाले आफैले रोयल्टी संकलन गर्दा ६ करोड ३३ लाख रुपैयाँ मात्रै रोयल्टी संकलन भएको छ ।
यद्दपी त्यसपछि पनि नगरपालिकाले थप २ पटक टेन्डर आह्वान गरिसकेको छ । माघ ९ गते र चैत ५ गते नदीजन्य पदार्थको रोयल्टी संकलनका लागि टेन्डर आह्वान गर्दा भने नगरपालिकाले न्यूनतम बोलपत्र रकम घटाएको छ । सँगसँग बोलपत्र आह्वान गरिरहने र आफै रोयल्टी पनि संकलन गरिरहेको नगरपालिकाले ठेकेदार नपाएपछि आर्थिक वर्षको अन्त्य सम्म नै रोयल्टी उठाएको छ ।

गोदावरीमा चालु आर्थिक वर्षमा मात्रै नभएर गत आर्थिक वर्षमा पनि नगरपालिकाले ठेकेदार नपाउँदा आफै रोयल्टी संकलन गरेको थियो । जस अन्तरगत ४ करोड ३९ लाख ८ हजार ८४० रुपैयाँ रोयल्टी संकलन भएको थियो ।

त्यतीबेला रोयल्टी शुल्क प्रतिघनमिटर १२० रुपैयाँ मात्रै थियो । तर चालु आर्थिक वर्षमा प्रतिघनमिटरको रोयल्टी शुल्क दोब्बर अर्थात् २४० तोकिएको छ । आफैले रोयल्टी संकलन गर्दा ठेक्का आह्वानका लागि तोकिएको न्यूनतम रकम बराबर पनि संकलन नहुँदा विभिन्न आशंका पैदा भएका छन् ।
नगरको मुख्य आन्तरिक आयस्रोतका रूपमा नदीजन्य पदार्थको रोयल्टी नै रहेको छ । नगरले प्रत्येक वर्ष नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का आह्वान गर्ने गरेको छ । तर स्थानीय सरकार आएको केही वर्षसम्म ठेकेदार पाए पनि विगत ३/४ वर्षदेखि भने नगरपालिकाले ठेकेदार नपाउँदा आफैले नदीजन्य पदार्थको रोयल्टी उठाउँदै आएको छ ।
अन्तिम पटक आर्थिक वर्ष २०७८/७९ मा ठेकेदार कम्पनी भवानी कन्स्ट्रक्सन प्रालि कञ्चनपुरले नदीजन्य पदार्थको रोयल्टी उठाउने ठेक्का पाएको थियो । नगरपालिकाले गोदावरीका तिन वटा खोला खुटिया, खौराना र गोदावरी नदीको नदीजन्य पदार्थ बिक्री शुल्कका लागि न्यूनतम ५ करोड ५० लाखमा बोलपत्र आह्वान गरेकोमा उक्त कम्पनीले बढीवढावमा त्यति बेलै ६ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँमा राजश्व गोदावरीलाई दिने कबुल गरेको थियो ।
त्यसपछि नगरपालिकाले न्यूनतम बोलपत्र रकम उच्च राख्दै ठेकेदार नपाइएको भन्दै आफै कर्मचारी परिचालन गरेर राजश्व संकलन गर्दा आएको छ । जसले गर्दा नगरको आम्दानी ओरालो लागेको छ । यसरी आम्दानी घट्दा नगरले रोयल्टी संकलनका नाममा आर्थिक हिनामिना गरेको हुन सक्ने आशंका स्थानीयले गर्न थालेका छन् ।

















