ज्ञान सिंह बिष्ट – सुदूरपश्चिम प्रदेशको एउटा विकट र हिमाली जिल्ला दार्चुलामा रहेको मेरो सानो गाउँ अब पहिलेको जस्तो रहेन सकेन । पहिले मेरो गाउँमा साँझ पर्नासाथ सबै बुढापाकाहरू चौतारामा नजिकका पसलमा भेला हुन्थे। कसैको घरमा बिहे वा अन्य कार्यक्रम पर्न लागेको खबर आउँथ्यो भने गाउँका युवाहरू पहिले नै जुट्थे, “के काम गर्नुपर्ला?” भनेर। खेतबारीमा काम गर्दा पनि रोपाइँदेखि पराल सुकाउनेसम्म सबैले हात मिलाउँथे। त्यो गाउँ केवल घर र बारीको समूह थिएन, त्यो भावना थियो — “हाम्रो गाउँ, हाम्रै जिम्मेवारी।” तर अहिले त्यो भावना हराउँदै गएको छ। राजनीति गाउँमा यस्तो पसिसकेको छ कि अब गाउँको चिया पसलदेखि मेला–जात्रासम्म, मठ देखि मन्दिरसम्म, टोलदेखि विद्यालयसम्म सबै कुरा पार्टीका रङले रंगिएका छन्।

पहिले गाउँका कुरा गाउँकै बुज्रुकहरूले मिलाउँथे। विवाद भए सबै एक ठाउँमा भेला भएर सल्लाह बस्थ्यो, सबै मिलेर निष्कर्ष निकालिन्थ्यो। तर अहिले त्यही विवाद न्यायका नाममा दलका नेता कहाँ पुर्याइन्छ। जसको दल बलियो छ, ऊ सही ठहरिन्छ; जसको छैन, ऊ अन्यायमा पर्छ। गाउँमा कसले कसलाई भोट दिएको भनेर हेर्ने चलन बनेको छ। चुनाव सकिए पनि मनको चुनाव कहिल्यै सकिँदैन। राजनीतिले आफ्नै घरमा भाइ भाइ बिच फाटो ल्याएको छ को कुन पार्टीको पक्षमा हो भन्ने आधारमा नै अब मित्रता र शत्रुता तय हुने गर्छ। “जिउँदाको जन्ती मर्दा को मलामी” भन्ने भनाइ पनि आजभोलि लोप हुने अवस्थामा पुग्ने वाला छ, कुनै व्यक्तिको विवाह हुँदा जन्ती र मृत्यु हुँदा मलामी जानपनी त्यो कुन पार्टीको हो भनेर सोध्ने दिन पनि आएका छन्। गाउँभित्रै अब दुई, कहिलेकाहीँ तीन–चार अलग अलग समूह बनेका छन् — एउटै गाउँ भए पनि मन भने अलग–अलग बन्न पुगेको छ।
राजनीतिले गाउँको अर्थतन्त्रमा पनि ठुलो असर पारेको छ। पहिले गाउँमा विकासका कामहरू सामूहिक श्रममा हुन्थे। बाटो बनाउँदा, कुलो खन्ने बेला, सबै गाउँले जुट्थे। अहिले ती काम ठेक्का प्रणालीले कब्जा गरेका छन्। जो पार्टीमा नजिक छ, ठेक्का उसको; जो टाढा छ, उसको आवाज सुन्ने कोही छैन। विकासका बजेट पनि राजनीतिक पहुँचका आधारमा बाँडिन्छन् कसैलाई एक गाग्री पानी ल्याउन एक/एक घण्टा टाढा जानुपरेको छ भने कसैको घरमा दुई दुई पानीको धारा बनेका छन्। कसैको सम्बन्ध माथिसँग छ भने उसले फाइदा पाउँछ, अरूले आशा मात्रै राख्न सक्छन्। यस्तो प्रवृत्तिले गाउँमा समानता होइन, असमानता जन्माएको छ।
पूरा सुदूरपश्चिम झैँ मेरो गाउँमा पनि युवाहरू पलायन हुने प्रवृत्ति बढ्दो छ। धेरैजसो युवाहरू खाडी र भारततिर पुगेका छन्। गाउँमा बचेका बुढाबुढी राजनीति र एक्लोपन बिच अल्झिएका छन्। पहिले युवाहरूले गाउँका सामूहिक काममा हात लगाउँथे, अहिले त उनीहरू सामाजिक मञ्चमा होइन, भिडियो कलमा मात्रै देखिन्छन्। राजनीति र प्रवास — दुवै मिलेर गाउँलाई जनशून्य र मनशून्य बनाइरहेका छन्।

मेरो गाउँमा अहिले मेला र जात्रामा पनि पहिलेको रमाइलोपन छैन। बाजा बज्छ, नाच हुन्छ, तर त्यो सामूहिक हाँसो हराएको छ। मानिसहरू आ–आफ्नो पार्टीका झण्डा लिएर आउँछन्, नाच्दा पनि नजरमा विभाजन हुन्छ। विद्यालयमा पनि राजनीतिको गन्धबाट बच्न सकेको छैन,राजनीति ओ इन्फ्याक्सनले विद्यालयहरू जटिल बिरामी भएका छन् यसले गर्दा शिक्षा क्षेत्र भद्रगोल बनेको छ। गाउँको आत्मा फुटेको छ — बाहिर सडक बाटो बन्यो होला, तर मनको बाटो बन्द छ।
तर सबै कुरा गुमेको छैन। अझै पनि कहिलेकाहीँ बर्खामा बाटो बगाउँछ, कुलो बगाउँछ आपत् विपतमा सबै गाउँले मिलेर सहयोग गर्न निस्किन्छन्। ती क्षणहरूमा पुरानो सामूहिकताको झल्को देखिन्छ — त्यो नै आशाको किरण हो। राजनीति गाउँमा रहोस्, तर मान्छेका मनमा होइन। जब राजनीति सेवा र चेतनाको रूपमा फर्किन्छ तर स्वार्थ होइन, तब मात्रै फुटेका मनहरू फेरि मिल्न सक्छन्।
म विश्वास गर्छु — मेरो गाउँ फेरि त्यही बन्न सक्छ, जहाँ पार्टी होइन, मान्छे मुख्य विषय हुनेछन्। जहाँ विकासका निर्णय दलका रङले होइन, गाउँकै भलाइले तय हुनेछन्। सामूहिकता, सहकार्य र आपसी माया फर्कियो भने राजनीति पनि गाउँका लागि वरदान बन्न सक्छ। अहिले चाहिँ त्यो राजनीति, जसले चेतना ल्याउनुपर्ने थियो, उस्तै गरी फुट ल्याएर गइरहेको छ। आउँदै गरेको निर्वाचनले आगोमा झन् घ्यू थप्ने काम गरिरहेको देखिन्छ। मेरो मात्र नभएर पुरै सुदूरपश्चिमभरी रहेका सम्पूर्ण गाउँहरूको क्यान्सरको रूपमा राजनीति रहेको देखिन्छ, जसले गाउँहरूलाई भित्र बाट खोक्रो बनाइ रहेको छ।
लेखक
ज्ञान सिंह बिष्ट
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस


















