अत्तरिया – कैलालीका किसानलाई यतिबेला चैते धान भित्र्याउने चटारो छ । बादल लाग्ने, हावाहुरी चल्ने र फाट्टफुट्ट पानी पर्ने पनि भइरहेकाले किसानहरु धमाधम धान भित्र्याइरहेका हुन् । बाढीले क्षति पु¥याउन थालेपछि चैते धान लगाउन थालेका किसानलाई अहिले धान भित्र्याउन भ्याइनभ्याइ छ ।
कैलालीको भजनी नगरपालिका–८ खैराका किसान वीरबहादुर चौधरीले चैते धान काटिसकेका छन् । उनले साढे तीन बिघा जमिनमा चैते धान लगाएका थिए । पानी पर्ने डरले उनले काचो धानसमेत काटेको बताए । ‘लगभग लाएजति सबै धान पाकिसकेको थियो, केही धान पाक्न बाँकी थियो, पानी पर्ने डरले सबै धान काटिदिएँ’, उनले भने, ‘यस्तो मौसम भइराछ, कहिले बादल लाग्ने कहिले हावाहुरी आउने भइराछ, यता पानी त परेको छैन तर परिहाल्छ कि भनेर काटिदिएँ ।’ उनले कम्पेनले धान काटेको बताए । ‘हाम्रो गाउँमा कोहीसँग कम्पेन छैन, छिमेकी गाउँबाट ल्याएर काट्यौँ, चुटि पनि सक्यौँ, सबै धान पाकेको पनि थिएन अहिले घाममा सुकाइराछौँ’, उनले भने । आफ्नो खेत अलि खल्ला जस्तो ठाउँमा भएकाले पनि छिटोछिटो काटेर भित्र्याएको उनी बताउँछन् । उनले बर्खे धानको बिउ पनि छरेका छन् । अब एक÷दुई दिनमा बर्खे धान पनि रोप्न सुरु गर्ने उनले बताए ।


कैलारी गाउँपालिका–७ भुइयाँफाँटाका किसान फिरुराम चौधरीले पनि चैते धान काटिसकेका छन् । साढे चार बिघा जमिनमा चैते धान लगाएका उनी अहिले सोही जमिनमा बर्खे धान रोपिरहेका छन् । ‘मैले दुई पल्ट गरेर चैते धान काटे, एकपल्ट आधा अनि अर्को पल्ट बाँकी रहेको आधा’, उनले भने, ‘भर्खर पानी पर्न थाल्या छ, धान समयमै पाक्यो अनि काटिहाल्यौँ ।’ उनले पनि कम्पेन ल्याएर धान काटेका छन् ।
कम्पेनले धान काटेबापत प्रतिबिघा ६ हजार रुपैयाँ तिर्नुपर्ने उनी बताउँछन् । ‘छिमेकी गाउँमा कम्पेन छ, त्यहीँबाट ल्याएर काट्यौँ’, उनी भन्छन्, ‘कम्पेनले एक बिघाको धान काटेको ६ हजार तिर्नुपर्छ ।’ उनले धानबाट मुनाफा आए÷नआए पनि हातले धान काट्न सम्भव नभएको हुँदा कम्पेनले काटेको बताए । ‘खेती गरिराछौँ, यो भन्दा अरु काम केही छैन पनि, धानबाट कम बढी जति फाइदा भएपनि चार÷चार बिघामा लगाएको धान हातले काट्न सकिँदैन, महङ्गै भएपनि कम्पेनले नै काट्छौँ, फेरि कतिबेला पानी पर्छ थाहा छैन’, उनले भने ।

कैलारी–७ कै लालबहादुर चौधरीले पनि यो वर्ष चैते धान लाए । सबैले राम्रो फल्ने बताएपछि आफूले पनि चैते धान लाएको उनी बताउँछन् । ‘मैले यो वर्ष मात्रै चैते धान लाएको हुँ, सबैले राम्रो फल्छ भनेपछि कस्तो फल्दो रैछ भनेर लगाएको थिएँ, राम्रो फल्दो रैछ,’ उनले भने । लालबहादुरले तीन कट्ठा जमिनमा मात्र चैते धान लगाएका थिए । जसमा ८ क्विन्टल धान फलेको उनी बताउँछन् । ‘हिजो मात्र धान थन्क्याएँ, ८ क्विन्टल भन्दा बढी नै फलेको होला,’ उनी भन्छन्, ‘अब बर्खे धान रोप्छौँ ।’

जोशीपुर गाउँपालिका–५ का आइतबारीलाल चौधरीले पनि आइतबार मात्रै धान काटेर भ्याए । उनले ७ कट्ठा जमिनमा चैते धान लगाएका थिए । हावाहुरी, बादल लाग्ने भइरहेकाले छिटो धान भित्र्याउन भनी ६ जना मान्छे लाएर धान काटेको उनले बताए । ‘धान काट्नलाई ६ जना मान्छे लाए, ७ कट्ठामा चैते धान थियो, दुई दिन लाएर सकियो’, उनले भने । उनले धान काट्ने समयमा हल्का वर्षा पनि भयो । तर पानी परेको एकछिनमै घाम लाग्दा धानमा कुनै क्षति भने नपुगेको उनी बताउँछन् । उनी यस वर्ष चैते धान अरु वर्ष जस्तो नफलेको बताउँछन् । ‘पोहोर चैते ४ लाएको थिए, राम्रो फलेको थियो, छिटो पाक्थ्यो पनि’, उनी भन्छन’, ‘यो वर्ष चैते ५ लगाए, यो ढिलो पनि पाक्यो, खै के कमी भयो त्यति राम्रो फलेन ।’
वर्षा नहुँदा फाइदा
कैलालीमा केही दिनयता हावाहुरी चल्ने, आकाश गड्याङ्गुडुङ हुने भइरहेको छ । वर्षा भने फाट्टफुट्ट भइरहेको भएपनि अझै मनसुन सकृय भइसकेको भने छैन । नेपालमा गत जेठ २८ गते कोशी प्रदेशबाट मनसुन प्रवेश गरेको थियो । सामान्यतया मनसुन भित्रिएको एक हप्ता आसपासमा देशभर फैलिने भए तापनि यो वर्ष केही ढिला भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोदन लामिछानेका अनुसार सुदूरपश्चिममा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले मनसुन सकृय हुन समय लागिरहेको छ ।
तीन बाली लगाएर उत्पादन लिइरहेका कैलालीका किसानले भने मनसुन सकृय हुन ढिला हुँदा चैते धान भित्र्याउन पाएका छन् । उनीहरुले सुरुमा तोरी मसुरोहरु लगाउने, त्यसपछि चैते धान र चैतेपछि बर्खे धान लगाउने गरिरहेका छन् । भजनी, कैलारी, टीकापुर र जोशीपुर जिल्लाका बढी चैते धान खेती गरिने पालिका हुन् । बाढीले चैते धान लगाउन थालेका किसानलाई अहिले त्यसको डर छैन । बर्खे धानभन्दा राम्रो उब्जनी समेत हुने भएकाले डुबान हुने क्षेत्रका किसानले बढीजसो चैते धान नै लाउने गरेको पाइन्छ । बाढीले धान नै भित्र्याउन नपाइरहेका किसानका लागि चैते धान विकल्प खेती बन्न पुगेको छ ।
















