अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ शिवशंकर टोलमा नयाँ निर्माण गरिएको कालोपत्रे गुणस्तरहिन भएको स्थानियले आरोप लगाएका छन । केही दिन अघि मात्रै निर्माण सम्पन्न उक्त सडक मापदण्ड विपरित र गुणस्तरहिन भएको स्थानियहरुले आरोप लगाएका हुन । उनिहरुले उक्त सडकमा गुणस्तरिय काम नभएको भन्दै हातले समेत कालोपत्रे उप्काएका थिए ।
स्थानिय एल आर ओझाले भरखरै निर्माण सम्पन्न भएको सडकको कालोपत्रे हातले समेत उप्काउन सकिने खालको भएको बताए । उनले कालोपत्रे गुणस्तरहिन भएकाले यसलाई सुधारेर पुनः काम थालिनुपर्ने बताए । ‘कालोपत्रे सम्पन्न भएको भनिएपनि सडक गुणस्तर हिन भएको छ, यसको बारेमा सत्यतथ्य बुझ्न सम्बन्धीत निकायलाई आग्रह गर्दछु’ उनले भने ‘औलाले कोट्याए पनि निस्कीने खालको कालोपत्रे बनेको छ, यो कार्यलाई सुधारेर पुनः काम गरिनुपर्दछ ।’


उनले उक्त सडक निर्माण गर्ने निर्माण कम्पनिका यस अघि पनि यस्तै किसिमका कुराहरु सुन्नमा आएकाले आगामी दिनमा त्यस्ता निर्माण कम्पनिलाई काम दिदाँ नगरपालिकाले ध्यान पु¥याउन पनि जरुरी रहेको बताए ।
अर्का स्थानिय भुवन भट्टले स्थानियहरुको अनुरोधमा हेर्दै गर्दा वास्तवमै गुणस्तरहिन काम भएको देखिएको बताए । उनले औलाले कोट्याउदा कोट्टीने, हातले निकाल्दा निस्कीने, बाईकको स्ट्याण्डले घुमाउदा खाल्टो पर्ने प्रकारको सडकमा कालोपत्रे गरिएकाले सम्बन्धीत निकायले अनुगमन गरेर बाटोको गुणस्तर कायम गर्नुपर्ने बताए । उनका अनुसार करिब १० दिन अघि उक्त सडकको काम सम्पन्न भएको थियो ।
उक्त सडकको निर्माण सम्पन्न भएर आवश्यक प्रकृयाहरु पनि पुरा भैसकेको बताईएको छ । नगरपालिकाको तर्फबाट प्राविधिकले अनुगमन गरेर थिगनेस (मोटोपना), कच्चा पदार्थहरुको प्रयोग गुणस्तरिय भएको भन्दै ल्याब टेष्ट समेत पास गरेर बिल उठाईसकिएको छ ।


यता नगरपालिकाका इन्जिनियर जनक खड्काले सडकको अनुगमन गरेर आवश्यक चेकजाँच गर्दा सबै गुणस्तरिय भएको पाईएको बताए । आफुहरुले कच्चा पदार्थ र सडकको थिगनेसका लागि टेष्ट गरेको बताउदै उनले टेष्टमा सडकको गुणस्तर राम्रो भेटिएको बताए । उनले गर्मीका कारण बिटमिन सेट नहुँदा पनि समस्या आउन सक्ने बताए ।
‘सेन्सील हालेको छ माथिबाट गाडी चल्या छैनन्, गाडी नचल्दा गर्मीका कारण बिटमिन पनि सेट भएको छैन’ उनले भने ‘त्यसैले पनि त्यस्तो देखिएको हो, फेरी भरखरै सम्पन्न भएको हुनाले राम्ररी नबसेको पनि हुन सक्छ, अझै एक महिना जति हेर्नुपर्छ ।’ उनले ल्याबले गुणस्तरि देखाएको भएपनि यदी बिग्रेको नै भए अझै भत्काएर पुनः निर्माण गर्न लगाईने बताए ।
वडा कार्यालयले गत आर्थिक वर्ष गौरीशंकर टोलदेखि उत्तर तेघरी हुँदै कृष्ण आधारभूत विद्यालय सम्म जाने बाटो अन्तर्गत ५०० मिटर बाटो कालोपत्रे गर्ने भन्दै ५० लाख रुपैयाँ विनियोजित गरेको थियो । उक्त बाटो कालोपत्रेका लागि नगरपालिकाले टेन्डर आह्वान गरेको थियो ।
उक्त सडकको निर्माण कार्य अत्तरियाको जगदम्बा निर्माण सेवाले गरेको थियो । सो विषयमा निर्माण कम्पनिका सञ्चालक सन्तोष जोशीसँग सम्पर्क गर्न खोज्दा उनले उक्त विषयमा कुरा गर्न चाहेनन् । फोन उठाएर उक्त विषयमा कुरा गर्न खोज्दा जोशीले फोन काटेका थिए । त्यसपश्चात पुनः उनलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
















