खाेज्नुहाेस

तातो लहर सुरु हुँदा कैलालीमा अध्याधिक गर्मी

Image

अत्तरिया – पछिल्लो केही दिन यता कैलाली लगायतका जिल्लाहरुमा अत्याधिक गर्मी बढेको छ । विगत ४ दिनदेखी कैलालीमा लगातार ४० डिग्री सेल्सीयस भन्दा बढी गर्मी मापन भएको छ । बुधबार त झन कैलालीमा यसवर्ष कै सबैभन्दा बढी तापक्रम मापन गरिएको छ । बुधबार कैलालीमा ४३ दशमलव ३६ डिग्री सेल्सीयस तापक्रम मापन गरिएको हो । गर्मी बढ्दै गएपछि यहाँको जनजिवन पनि प्रभावित बनेको छ । बिहानैदेखी महसुस हुने अत्याधिक गर्मीका कारण पठनपाठनमा पनि समस्या हुने गरेको छ ।

कैलालीमा पछिल्लो केही दिन यता तातो लहर सुरु हुँदा गर्मी बढेको अत्तरिया स्थित महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख ईन्जिनियर संजय कुमार शाहले स्पष्ट पारे । उनले विगतको तुलनामा अत्याधिक गर्मी भने नबढेको बताए । ‘हामीले महसुस गरेको भएपनि गर्मी अत्याधिक रुपमा बढेको भन्ने हैन’ उनले भने ‘३/४ दिनदेखी नियमित एकनासको तापक्रम रहेकाले हामीलाई बढी गर्मी महसुस भएको हो ।’ उनले नियमित रुपमा तातो लहर चल्दा अत्याधिक गर्मीको महसुस भएको बताए । उनले अत्याधिक गर्मीको मात्रा भन्दा पनि न्युनतम गर्मीको मात्राले बढी तापक्रम दिने गरेको बताए ।

add everest academy
attariya hospital

‘अत्याधिक गर्मी केही समयसम्म मात्रै हुने भएकाले त्यसले खासै प्रभाव पार्दैन’ उनले भने ‘तर गर्मीको न्यूनतम मात्रा भने २४ सै घण्टा रहन्छ, न्यूनतम मात्रा बढ्दा हामीलाई बढी गर्मी महसुस हुन्छ ।’ उनका अनुसार मंगलबार कैलालीमा २९ दशमलव ५ डिग्री सेल्सीयस न्यूनतम तापक्रम मापन गरिएको थियो । जुन यसवर्षकै सबैभन्दा बढी हो । ईन्जिनियर शाहले विगतमा कैलालीमा ४६ डिग्री सम्म अधिकतम तापक्रम पुगेको स्मरण गर्दै यो वर्ष पनि अझै तापक्रम बढ्न सक्ने बताए ।

‘कैलालीमा १९९५ सालतिर ४६ डिग्री सेल्सीयस तापक्रम पुगेको थियो रे, त्यो बेला यस्ता भवनहरु थिएनन्, बनजंगलको मात्रा बढी थियो त्यसैले बढी गर्मी महसुस भएन होला’ उनले भने ‘तर अहिले ४२ डिग्रीमा पनि बढी तापक्रम महसुस भैरहेको छ, त्यसको कारण अहिले विकास निर्माणका काम बढी भए, बनजंगलको मात्रा कम हुदै गयो, जताततै भवन निर्माण हुँदा गर्मी बढी महसुस भैरहेको छ, यो तापक्रम अझै बढ्न सक्छ ।’ उनले मनसुन आउनु अगाडी अझै गर्मी बढ्ने अनुमान रहेको बताए । अहिले तातो लहर चलिरहेकाले पनि गर्मी अत्याधिक बढेको उनको भनाई छ ।

के हो तातो लहर

attariya technical collage

ग्रीष्मलहर वा तातो हावाको लहर एक मौसम शब्द हो, जुन हावाको अत्याधिक तातो अवस्थाको वर्णन गर्न प्रयोग गरिन्छ । यदि कुनै ठाउँमा तापक्रम लामो समयसम्म बढ्दै जान्छ र त्यसको साथमा आर्द्रता पनि वृद्धि हुन्छ भने त्यसलाई ग्रीष्मलहर भनिन्छ ।

यसको अर्थ तातो मौसममा हुने भिन्नतामा मात्र सिमित नभई यसले छोटो समयावधिमा हुने असामान्य ताप वृद्धिलाई बुझाउँछ । तापक्रम बढ्दै गएर जब अधिकतम तापक्रम ४० डिग्री नाघ्छ, त्यसपछि हावा पनि तातो चल्ने र सो हावालाई तातो लहर भनिने महाकाली बेसिन फिल्ड अत्तरियाका कार्यालय प्रमुख ईन्जिनियर सञ्जय कुमार शाहले बताए । जल तथा मौषम विज्ञान विभागले पनि लगातार ३ दिन या सो भन्दा बढी दिनसम्म तापक्रम ४० डिग्री नाघ्दा आउने हावालाई तातो लहर बताएको छ ।

navjiwan hospital

‘लगातार ३ दिन या त्यो भन्दा बढी दिनसम्म ४० डिग्री सेल्सीयस तापक्रम मापन हुँदा त्यसलाई जल तथा मौषम विज्ञान विभागले तातो लहरको समय भन्छ’ ईन्जिनियर शाहले भने ‘विगत ३/४ दिनदेखी ४० डिग्री माथी तापक्रम भएकाले यसलाई तातो लहरको समय भनिएको छ, यो समयमा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ ।’

तातो लहरले पार्ने असर

ईन्जिनियर शाहका अनुसार तातो लहरले मानिसको स्वास्थ्यमा एकदमै नराकात्मक प्रभाव पार्ने गर्दछ । लगातार गर्मी भैरहने भएकाले यो समयमा स्वास्थ्यको ख्याल राख्न नसके मानिस बढी विरामी हुन सक्ने उनको भनाई छ । उनका अनुसार तातो हावाको लहरले मानिसलाई मृत्यसम्म पनि गराउन सक्ने भएकाले सावधानी अपनाउनु जरुरी छ । सुरुमा यसले चिलाउने, साना बिमिरा देखिने हुनसक्छ ।
त्यसबाट इन्फेक्सन भयो भने ठूला घाउ, खटिरा पनि बन्न सक्ने उनले बताए । यस्तै खुट्टा सुनिने, रिङटा लाग्ने र मानिस बेहोस पनि हुन सक्ने शाहले बताए । यसले रक्तचाप घट्ने लगायतका लक्षण पनि देखिन सक्ने उनले बताए ।

काम गर्ने व्यक्तिमा ‘डिहाइड्रेसन’ हुन सक्ने बढी खतरा हुन्छ । यस्तो बेलामा तिर्खा बढी लाग्ने, टाउको दुख्ने, वृद्धवृद्धा, बालबालिका तथा कमजोर व्यक्तिहरू कोमामा पनि जान सक्ने खतरा हुने उनको भनाई छ । हात खुट्टा बाउँडिने, अलिक बढी नै भयो भने वान्ता आउने र वान्ताका क्रममा फोक्सोमा पुग्यो भने मानिसको मृत्यु हुनसक्ने समस्या तातो लहरका समयमा आउने गर्दछ ।

बच्ने उपाय

तातो लहरबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको शीतल ठाउँमा बस्नु नै हो । त्यसबाहेक प्रशस्त पानी पिउने, घाममा धेरै नहिँड्ने, दिउँसो काम नगर्ने गर्दा पनि यसबाट जोगिन सकिन्छ ।

त्यसबाहेक गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नहिड्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने लगायतका कार्यहरु गर्नुपर्दछ ।

ईन्जिनियर शाहले तातो लहरको समयमा बजारमा पाईने चिसो पेयपदार्थ बढी पिउन नहुने समेत बताएका छन । त्यस्ता पदार्थहरुमा शरिरलाई चाहिने भन्दा पनि अरु तत्वहरु बढी हुने भएकाले त्यसले उल्टो शरिरमा समस्या नित्याउन सक्ने उनको भनाईछ । उनले गर्मीको समयमा अन्य जुसहरु पिउदा फाईदा हुने बताए ।