अत्तरिया – नेपालबाट रोजगारीलाई लागि विदेश जाने युवाहरूको लर्को लाग्ने गरेको छ । बेरोजगार युवा मात्रै नभएर सरकारी जागिरमा भएका सेना, प्रहरी पनि जागिरबाट अवकाश लिएर विदेश जाने धेरै छन् । बाध्यता सँगै विदेश जाने लहर चलिरहेका बेला कैलालीको गोदावरी – २ तेघरीका गणेश सिंह बुढामगर भने स्वदेशमै केही गरेर देखाउने अठोटका साथ कम्मर कसेर लागेका छन् ।
१८ वर्ष नेपाली सेनामा जागिर गरेका बुढामगरलाई रिटायर हुने बित्तिकै सहकर्मी साथीले विदेश जाउ भने । उनीसँगका धेरै विदेश गए पनि उनलाई भने विदेश जाऊँ भन्नेलाई स्वदेशमै पनि केही गर्न सकिन्छ भनेर देखाउने हुटहुटी थियो । त्यही हुटहुटीले उनलाई अहिले बाख्रा पालक किसान बनाएको छ ।

तेघरी स्थित नेपाली सेनाको ब्यारेक अगाडि घर भएका बुढामगरले २ वर्ष अघि आफ्नै घरबास भएको २ कट्ठा जग्गामा बाख्रा फारम बनाए । सँगै बाख्राका लागि घाँस खेती गर्न ३ बिगाहा जग्गा भाडामा लिएका उनको फर्ममा हाल ६० भन्दा बढी बाख्रा रहेका छन् ।
‘सुरुमा नयाँ काम भएर होला निकै गाह्रो भएको थियो । अहिले बिस्तारै सहज हुँदै गएको छ’ उनले भने ‘अहिले युवाहरूको लर्को विदेश तिर छ । तिनीहरूलाई केही नमुना देखाउन सकिन्छ कि भन्ने मेरो योजना हो ।’

बाख्रा पाल्दै सिक्दै गएका उनले हाल बाख्राको घाँसका लागि भाडामा लिएको जग्गामै बाख्रा फर्म निर्माण गरेर उतै बाख्रा सारेर व्यवस्थित गर्ने योजना बनाएका छन् । ‘अहिले आर्थिक अवस्थाले अलि समस्या पारेको छ । तर, जति संघर्ष गरेर भए पनि यसै क्षेत्रमा उदाहरणीय काम गर्ने मेरो लक्ष्य छ’ उनले भने ‘नत्र म रिटायर भएको मान्छे यती दुःख गर्ने नै थिएन ।’
नेपाली सेनाबाट २०७४ सालमा अवकाश पाएका उनले सुरुमा मिनी बस किनेका थिए । तर, बस किन्ने बित्तिकै कोरोनाका महामारी आएर लकडाउन भएपछि उनको बस चलाउने योजना तुहियो । त्यसपछि उनले बस बेचेर बाख्रा पाल्ने योजना बनाएका थिए ।
हाल जमुनापारी क्रस जातको बाख्रा पालेका बुढामगरले फर्मलाई आधुनिक बनाउने योजना बनाएका छन् । ‘बाख्रा थपेर आधुनिक फर्म बनाउने योजना छ’ उनले भने ‘तर, आर्थिकको समस्या भएकाले सोचे अनुसार गर्न सकेको छैन ।’ उनले २ वर्षको अवधिमा बाख्रा फार्ममा २० लाख जति लगानी लागिसकेको बताए । जसमा गत वर्ष नयाँ फर्म निर्माणको लागि वडा कार्यालयले पनि डेढ लाख अनुदानमा सहयोग गरेको उनले बताए ।
बाख्राको बजारीकरणमा भने चुनौती रहेको उनको बुझाई छ । गत वर्ष ३० वटा खसी बेचेका उनले यस वर्ष भने बजार पाउन अलि समस्या भइरहेको सुनाए । ‘गत वर्ष फार्म मै खसी किन्ने मानिस आउँथे पछिल्लो समय आर्थिक मन्दिले हो की किन हो अहिले किन्ने मान्छे धेरै कम आउन्छन’ उनले भने ‘बाख्रा बिक्री नभएर दाना चारो ल्याउन समस्या हुन्छ ।’ उनले तत्काललाई केही समस्या भए पनि भविष्यमा भने राम्रै हुने अपेक्षा लिएको बताए ।
दिनभरि बाख्रा फर्ममा खटिने उनलाई उनकी श्रीमती कलावती बुढामगरले सघाउँदै आएकी छिन । उनका दुई छोरा काठमाण्डौंमा अध्ययन गरिरहेका छन् भने एक छोरा अत्तरियामै अटो रिक्सा चलाउने गर्छन् । उनले हाल बाख्रा पालनबाटै दुई छोरालाई काठमाण्डौंमा पढाउन र घर खर्च चलाउन सहज भएको बताए ।

















